काठमाडौँ, चैत ११ गते । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गर्नुभएको छ । अवलोकनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद् लोकतन्त्रको मूल आधार भएको बताउनुभयो ।
संसद्मा आउने विभिन्न विचारको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिँदै केसीले संसद् सञ्चालनमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । "लोकतन्त्रको मूल आधार थलोका रूपमा रहेको संसद्मा भिन्न विचार आउँछन्, तिनलाई संयोजन गरेर सहमतिपूर्ण ढङ्गले निष्कर्ष निकाल्नुपर्ने हुन्छ," उहाँले भन्नुभयो ।
ज्येष्ठ सदस्यका रूपमा आफू रक्षक भएर जनप्रतिनिधिको विशेषाधिकार रक्षाका लागि भूमिका खेल्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, "म जति समय रहन्छु, संसद्को रक्षकका रूपमा र जनप्रतिनिधिको विशेषाधिकारको रक्षा गर्ने गरी भूमिका निर्वाह गर्नेछु ।"
यसअघि बुधबार नै उहाँले ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संसद्मा नयाँ सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले नै बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ ।