• ११ चैत २०८२, बुधबार

गोरखापत्र डिस्कोर्सको समीक्षा, सहकार्य जारी राखिने

blog

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी द प्लाजाका प्रबन्ध निर्देशक सूयांश चौधरीलाई धन्यवाद ज्ञापनपत्र र मायाको चिनो प्रदान गर्दै । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ११ गते । गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीको संयुक्तरूपमा पुस ३ गते ललितपुरको द प्लाजामा आयोजना गरिएको ‘गोरखापत्र डिस्कोर्स’को समीक्षा गरिएको छ । 

२०८२ भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि मुलुकको अर्थतन्त्र कतातिर जाने हो भन्ने अन्योल रहेका बेला गोरखापत्रले सरकार, व्यवसायी, सरोकारवाला र मिडियालाई एकै ठाउँमा राखेर वृहत बहस गरेको थियो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले भन्नुभयो, ‘‘जेन्जी विद्रोहपछि देशको अर्थतन्त्र कता जाने भन्ने चिन्ता थियो, व्यवसायीहरूमा सुरक्षाको चिन्ता र सन्त्रास थियो, त्यो बेला सरकार, निजी क्षेत्र, सरोकारवाला, मिडियालाई एकै ठाउँमा जुटाएर बहस गर्न सफलता मिल्यो । त्यसलाई सफल बनाउन द प्लाजाको सहयोगप्रति आभार व्यक्त गर्छु ।’’ 

उहाँले राष्ट्रिय अर्थतन्त्रका बारेमा राष्ट्रियस्तरको बहस गर्न गोरखापत्र सफल भएको छ, यो बहसलाई सफल बनाउन द प्लाजाले गोरखापत्रलाई महत्वपूर्ण सहयोग गरेकोमा द प्लाजाका प्रबन्ध निर्देशक सूयांश चौधरीलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा ललितपुरस्थित पुल्चोकमा रहेको द प्लाजाका प्रबन्ध निर्देशक सूयांश चौधरीले गोरखापत्र देशको एउटा राष्ट्रिय अङ्ग हो, सहयोग गर्ने अवसर पाइयो,  सहयाेग गर्नु  हाम्रो दायित्व पनि भएको बताउनु भयो । 

कार्यक्रममा संस्थानका महाप्रबन्धक ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, द राइजिङ नेपालका निमित्त प्रधान सम्पादक विष्णुप्रसाद गौतमलगायतले प्रबन्ध निर्देशक चौधरीलाई धन्यवाद ज्ञापन पत्रसहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।