काठमाडौँ, चैत ११ गते । नेपाल उमा कुङफु सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।
विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो ।
खेलाडीलाई नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जन, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
भूपेन्द्रले अमेरिका, जर्मनी, थाइल्यान्ड र युकेमा भएका विभिन्न प्रतियोगितामा हालसम्म १२ स्वर्ण र दुई रजत पदक जित्नुभएको थियो । सुजनले हालसालै जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा दुई स्वर्ण जित्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष राईले खेलाडीले हासिल गरेको उपलब्धिले उमा कुङफु सङ्घलाई मात्र नभइ सिंगो राष्ट्रलाई गौरव तुल्याएको बताउनुभयो ।
भूपेन्द्रले प्रशिक्षकबाट पाएको सही प्रशिक्षणले गर्दा उपलब्धि हासिल गर्न सम्भव भएको बताउदै आगामी दिनमा पनि राष्ट्रलाई पदक दिलाउन निरन्तर क्रियाशिल रहने बताउनुभयो ।