शङ्कर केसी
सल्यान, चैत ११ गते । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–३, दमार खोलाका २१ वर्षीय वेदबहादुर बुढा रहनुभएको छ।
उहाँ हाल दाङको पातेटाकुरा बस्दै आउनुभएको थियो। कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति रोल्पा गङ्गादेव गाउँपालिका–३, नाउली भालुमारेका करिब २५ वर्षीय चोपिलाल डाँगी रहनुभएको हो। घटनापछि उहाँर अन्य केही युवालाई मलेसियाको प्रहरीले नियन्त्रणमा लिएको छ।
मलेसियाको पेराक राज्यमा रहेका कपुरकोट–६ का लालजित खड्काका अनुसार घटना पेनाङ राज्यमा भएको हो। त्यहाँको प्रहरीले आफ्नै आधिकारिक वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको छ।
मृतकका काका पर्शुराम बुढाले पनि घटनाको पुष्टि गर्दै पोस्टमार्टम र प्रहरी रिपोर्टपछि शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार घटना गत आइतबार मलेसियाको समय अनुसार राति करिब ९ः३० बजे भएको हो।
घटनाको कारण प्रारम्भिक अनुसन्धानले साथी बिचको आपसी विवादलाई देखाएको छ। मृतक युवकको परिवारमा बुवा, आमा र एक जना दाइ रहेका छन्।