• ११ चैत २०८२, बुधबार

मुस्ताङबाट एक सय ९८ विद्यार्थी एसइईमा सहभागी हुँदै

blog

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, मुस्ताङ ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), चैत ११ गते । चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा मुस्ताङबाट करिब दुई सय विद्यार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका अनुसार नियमिततर्फ एक सय ८६ र ग्रेड वृद्धितर्फ १२ जना गरी जम्मा एक सय ९८ विद्यार्थी सहभागी परीक्षामा सहभागी हुने छन् । शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले मुस्ताङमा ९ सामुदायिक, १ निजी र २ धार्मिक विद्यालयबाट नियमितमा छात्र  १०१ जना र छात्रा ८५ जना रहेका छन् । 

त्यसैगरी ग्रेड वृद्धितर्फमा ६ जना छात्र, ६ जना छात्राले परीक्षा दिने बताउनुभयो । मुस्ताङमा एकमात्र परीक्षा केन्द्र रहेकाले जोमसोमस्थित जनहित माविमा एकमात्र एसइई परीक्षा केन्द्र तोकिएको सूचना अधिकारी विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परीक्षाका लागि घुम्ती विद्यालयका लागि जिल्ला बाहिर गएकाहरू परीक्षामा सामेल हुन फर्किँदैछन्, यहाँ विद्यार्थी सङ्ख्या कम भएकाले जिल्लाभर एउटा मात्रै केन्द्र तोकिएको छ ।’’ 

जिल्लामा जनहित मावि जोमसोमबाट साधारणतर्फ ३९ जना र प्राविधिक धारमा १० जना र जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङबाट १७ जनाले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ । 

जिल्लामा जनहित मावि, जनआदर्श अमरसिहं मावि, ज्ञानोदय मावि, योगेन्द्र मावि, जनवाल मावि, जनशान्ति मावि, जनहित खुला, धौलागिरि आवासीय मावि, जन नर्मल मावि, नालन्द बौद्धिष्ट स्कुल रहेको तल्लो मुस्ताङमा रहेका छन् । लोमान्थाङ गाउँपालिकाको दिव्यदीप मावि छोसेर र पाल एवं नाम्ग्याल गुम्बाबाट परीक्षामा सहभागी हुने छन् ।