• ११ चैत २०८२, बुधबार

अवैध नदीजन्य उत्खनन् गर्ने सवारी र लागुऔषध बरामद

blog

जिल्ला प्रहरी कार्यालय तनहुँको प्रवेशद्वार ।तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ११ गते ।तनहुँ प्रहरीले पछिल्लो तीन दिनमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन र लागुऔषध ओसारपसारमा सङ्लन व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार चैत ९ गते बिहान ७ बजे बन्दिपुर गाउँपालिका-६ बगरखोलाबाट अवैध रूपमा गिट्टी लोड गरी लैजाँदै गरेको अवस्थामा लु १ क ३२४१ नम्बरको जेसिबी, ग १ क ५४४२ र ग १ ख ७४३६ नम्बरको टिप्परलाई इलाका प्रहरी कार्यालय साराङघाटको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ती सवारी साधनलाई आवश्यक कारबाहीका लागि बन्दिपुर गाउँपालिकाको कार्यालय पठाइएको छ ।यसैगरी, चैत १० गते दिउँसो ३ः४० बजे आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ग २ ख १७७३ नम्बरको माइक्रो बस चेकजाँच गर्दा व्यास नगरपालिका–१४ बस्ने २५ वर्षीय केशव थापा पक्राउ पर्नुभएको हो ।

प्रहरी नायब उपरीक्षक बिकका अनुसार थापाको झोलाबाट लुकाई छिपाई ल्याएको १४३ क्याप्सुल लागुऔषध ट्रामाडोल फेला परेपछि उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी राखिएको छ ।

त्यस्तै, आज चैत ११ गते बिहान ७ बजे सोही स्थान बेनिटारमा काठमाडौँबाट बेनी जाँदै गरेको बा प्र ०३–००१ ख २४४४ नम्बरको बसमा सवार शुक्लागण्डकी नगरपालिका-४ बस्ने ३० वर्षीय निरोज बस्नेत ९६५ ग्राम गाँजासहित पक्राउ पर्नुभएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको टोलीले उहाँले बोकेको झोलाभित्र लुकाएको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

पक्राउ पर्नुभएका बस्नेतलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी पुर्‍याई थप अनुसन्धान भइरहेको सूचना अधिकारी बिकले जानकारी दिनुभयो ।