विष्णुप्रसाद पोखरेल
दमक, चैत ११ गते । झापामा मङ्गलबार बिहान र साँझ आएको हावाहुरी तथा असिना पानीले विभिन्न पालिकाहरूमा क्षति गरेको छ । एक साताअघि आएको हावाहुरी र असिना पानीले सो क्षति गरेको हो ।
एक साता नबित्दै झापामा पुनः हावाहुरी र असिनाले गरेको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरी र असिनापानी दमक–४, कृष्ण मन्दिर नजिकै पूर्व–पश्चिम लोकमार्गको छेउमा रहेका पाँच वटा विद्युत् पोल ढालेर क्षति गरेको छ ।
पोल ढल्दा ६५ वर्षीय टङ्क कटुवालको जस्ताको छानो भएको दुई तले घरमाथि खस्दा क्षति पुगेको छ । तत्काल विद्युत् प्राधिकरणले उक्त पोल हटाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काले बताउनुभयो ।
झापाकै कमल गाउँपालिका–२, छलफल चोकमा रहेको हाइजिङ प्याक्स नेपाल प्रालि (जुस फ्याक्ट्री) मा पनि हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । उद्योगमा जडान गरिएको ट्रस र टिनको संरचनाहरू उडाएर क्षति गरेको छ ।
यसैगरी अविरल वर्षा र असिनाले प्रहरी चौकी पाठामारीको भान्सा घरमा समेत ठुलो क्षति गरेको खड्काले बताउनुभयो । छानो क्षतिग्रस्त भएपछि प्रहरीहरू हाल अस्थायी रूपमा बरन्डामा खाना पकाएर खानु परेको खड्काले जानकारी दिनुभयो ।
भद्रपुर नगरपालिका–३, ज्ञानेचोकमा तीन जनाको घरमा असिनाले क्षति गरेको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । स्थानीय उमेश मगर, हेमबहादुर लिम्बू र दिलबहादुर राईको एक तले घरको टिनको छानामा प्वाल पारेको छ । क्षति विवरण आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।