एकिन्द्र तिमिल्सेना
टीकापुर, चैत ११ गते । टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक महोत्सवका रूपमा मनाइने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा चैत १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा साहित्य महोत्सव हुँदैछ ।
२०७९ सालमा स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्यमार्फत सामाजिक सदभाव’ भन्ने उद्घोषका साथ पहिलो साहित्य महोत्सव गरेको थियो । २०८१ सालमा सम्पन्न भएको दोस्रो संस्करणलाई पहलमानसिंह स्वाँर विशेष संस्करण नाम दिइएको थियो ।
‘तेस्रो संस्करणसम्म आइपुग्दाको अनुभव गर्दै अझ परिस्कृत गरेर थारू साहित्य तथा सांस्कृतिक उत्सवका रूपमा लिएका छौं’ टीकापुर साहित्य समाजका अध्यक्ष तथा महोत्सवका संयोजक महेशविक्रम शाहले भन्नुभयो, ‘यस महोत्सवमा थारू बाहुल्य जिल्ला कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङका साहित्यकारहरूको जमघट हुने छ । थारू लोकसाहित्य थारू संस्कृति जनजीवनलाई प्रवर्धन गर्नु र नयाँ पुस्तालाई आफ्नो भाषा लोकसाहित्यका बारेमा जानकारी दिई पहिचान स्थापित गर्न आवश्यक देखेर यस पटक थारू साहित्य र संस्कृतिको चर्चा गर्ने छौं ।’
चैत १३ र १४ मा हुने बहससत्रमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त साहित्यकार, लेखक, कलाकार, रङ्गकर्मी सञ्चारकर्मी र अभियन्ताहरूलाई स्थान दिइएको उहाँको भनाइ छ । यी सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, प्राडा. माधवप्रसाद पोखरेल, साहित्यकार सरुभक्त, रङ्गकर्मी निर शाहका विचार सुन्न पाइने उहाँले बताउनुभयो ।
दोस्रो दिन हुने कार्यक्रममा लेखनमा महिला रङ, केन्द्रिकृत लेखन र सुदूरको यथार्थ शीर्षकको संवादमा लेखक तथा साहित्यकारहरुमा रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, लक्की चौधरीले संवाद गर्नुहुनेछ । सो सत्रको सहजीकरण साहित्यकार जनक रसिकले गर्नुहुनेछ । सुदूरपश्चिम पर्यटनको नयाँ गन्तव्यजस्ता विषयमा चर्चा हुने उहाँको भनाइ छ । दोस्रो दिन डाक्टर वसन्त पन्तले मृत्यू चिन्तन विषयमा बहस गर्नुहुने छ ।
महोत्सवको तेस्रो दिन सात वटा सत्रहरू थारू साहित्य र संस्कृति विशेष हुने छन् । यस दिन थारू समाजका बरघर परम्परा, थारू समुदायको चाडपर्व, मूलधारको साहित्य र थारू बिम्ब, थारू लोकसाहित्य मौखिक परम्परादेखि आधुनिक लेखनसम्म, आधुनिकताको लहरमा थारू पहिचान, थारू किसानका आँखामा बदलिदो गाउँ, उद्यमशील थारू महिलाजस्ता विषयमा चर्चा हुने छ । महोत्सवको उद्घाटनमा थारू संस्कृतिको प्रदर्शन हुने संयोजक शाहले बताउनुभयो ।
हरेक दिनको बहससत्रपछि साँझ विशेष कार्यक्रम हुने छन् । पहिलो दिनको साँझ यज्ञराज उपाध्याय र शोभा थापा मगरको उपस्थितिमा देउडा गायन हुने छ । साहित्यकारहरूबाट काव्य श्रवण हुने छ । दोस्रो दिन गजल श्रवण गरिने छ । तेस्रो दिनको साँझ थारू लोकगीत श्रवण, थारू सांस्कृतिक कार्यक्रम र रामलीला नाच हुने छन् ।
टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाह महोत्सवले स्थानीयताको प्रवर्धन गर्ने, स्थानलाई राष्ट्रिय रूपमा चिनाउने र राष्ट्रिय व्यक्तित्वहरूलाई स्थानीय परिवेश देखाउने काम गरेको बताउनुभयो ।
उहाँका अनुसार बहसमा बोल्ने वक्ताका कुराहरूबाट लोकतान्त्रिक परिवेश बुझ्न सहयोग पुग्ने, सृजनशीलता र पठन संस्कृति घटदोक्रममा रहेकाले यहाँ प्रतिभाहरूको साहित्यमा रुचि जगाउने उहाँको विश्वास छ ।

महोत्सवअघि लेखन कार्यशाला
टीकापुर महोत्सवको पूर्वसन्ध्यामा नाटककार अशेष मल्लले नौ जना स्थानीय प्रतिभालाई दुई दिनको नाटक लेखन, अभ्यास गराउनुभएको छ । छ वटा स्थानमा लागु औषधविरुद्धको सडक नाटक देखाइएको छ । साहित्यकार नीलम कार्की ‘निहारिका’ र लेखक तथा राजनीतिक विश्लेषक केशव दाहालले लेखन कार्यशालामार्फत यहाँका क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिनुभएको छ ।
लेखक दाहालले विद्यार्थीलाई लेख्नका लागि प्रेरित गरिएको बताउनुभयो । ‘लेखकलाई विगत वर्तमान र भविष्यसँग कसरी जोड्छ भनेर सम्झाउने, पठन संस्कृतिको अभ्यास होस, साहित्य साधनाको लामो सिलसिलामा प्रवेश गरुन् भनेर लेखन कार्यशाला चलाएको हो, दाहालले भन्नुभयो, ‘डिजिटल दुनियाँमा लेखन पहिलेभन्दा सहज बन्दै गएको र युवाहरू लेख्नका लागि उत्साहित देखिएका छन् ।’ दाहालले कार्यशाला सञ्चालन गर्न क्याम्पसका कक्षा कोठामा पुग्दा आफ्नै विगत सम्झाएको बताउनुभयो ।
टीकापुर साहित्य समाजका सदस्य रङ्गप्रसाद अधिकारीले नौ जना कलाकार नाटक लेखन र १६९ जना विद्यार्थी साहित्य लेखन कार्यशालामा सहभागी भएको बताउनुभयो ।