• ११ चैत २०८२, बुधबार

बञ्चरो प्रहारबाट तीन जना गम्भीर घाइते

blog

दोर्दी गाउँपालिका–५ सादीखोलास्थित घटनास्थल ।

नवीनराज कुइँकेल

लमजुङ, चैत ११ गते । लमजुङको दोर्दी गाउँपालिका–५ सादीखोलामा घरायसी विवादका क्रममा बञ्चरो प्रहार हुँदा श्रीमतीसहित तीन जना घाइते भएका छन्।

बुधबार बिहान स्थानीय ४९ वर्षीय वकन गुरुङले श्रीमतीसँग भएको विवादका क्रममा बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा उहाँकी श्रीमती ४५ वर्षीया चिजमाया गुरुङ गम्भीर घाइते हुनुभएको छ। बञ्चरो प्रहारबाट उहाँको बायाँ हात र पेटमा गम्भीर चोट लागेको र प्रदेश अस्पताल लमजुङमा सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, ७२ वर्षीय गर्वलाल गुरुङ र १० वर्षीय अनमोल गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उहाँहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको छ।

घटनालगत्तै प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। बञ्चरो प्रहार गर्ने वकन गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।

यस सम्बन्धमा जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।