• ११ चैत २०८२, बुधबार

कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ सम्म काठमाडौँमा हुने

blog

फाइल तस्बिर

काठमाडौँ, चैत १२ गते । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका पारित गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संशोधनसहित नयाँ कार्यतालिका पारित गरेको हो ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको औपचारिक प्रक्रिया यही चैत २३ गतेदेखि सुरु हुनेछ । पारित कार्यतालिका अनुसार २०८३ भदौ २ गते वडा अधिवेशन र भदौ ७ गते गाउँ तथा नगर अधिवेशन हुने तय भएको छ ।

प्रवक्ता चालिसेले भन्नुभयो, “पार्टीको १५ औँ महाधिवेशनको मिति पारित भएको छ । हामी चैत २३ गतेदेखि प्रक्रिया सुरु गर्छौं र असोज १६, १७, १८ र १९ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ ।” उहाँले बैठकका अन्य निर्णयहरू बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी समेत दिनुभयो ।

यसैगरी बैठकले सरकार निर्माणको प्रक्रियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रूपमा बधाई तथा शुभकामना दिने निर्णय समेत गरेको छ ।