बगदाद, चैत ११ गते । पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । गत फेब्रुअरी-२८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल इराकको अधिकाशं भागमा फैलिएको छ ।
इरान समर्थक सशस्त्र समूहले अमेरिकी संरचनामा भएका आक्रमणको जिम्मेवारी लिइसकेका छन् । रक्षा मन्त्रालयले अनबर प्रान्तको आधारमा भएको आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु भएको हुनुका साथै अन्य १३ जना घाइते भएको बताएको छ । आक्रमणले आधारको सैन्य स्वास्थ्य क्लिनिकलाई पनि लक्षित गरेको मन्त्रालयले पुष्टि गरेको छ । सुरक्षा अधिकारीलाई उदृत गर्दै एएफपीले मृत्यु हुने मध्ये एक सैन्य डाक्टर पनि रहेको जनाएको छ ।
यस अघि इराकको आधार शिविरमा मङ्गलबार भएको आक्रमणमा एक कमान्डरसहित १५ जना पिएमएफ लडाकु मारिएका थिए । पेन्टागनले वर्तमान द्वन्द्वको समयमा इराकमा इरान समर्थक सशस्त्र समूह विरुद्ध लडाकू हेलिकाेप्टरले आक्रमण गरेको स्वीकार गरेको छ । बगदादले विदेशी सैनिक र कूटनीतिक मिसनलाई लक्षित आक्रमणका साथै पिएमएफका स्थान विरुद्ध आक्रमणको निन्दा गरेको छ । रासस/एएफपी