• ११ चैत २०८२, बुधबार

पाँचौ पटकमासमेत लिलामी भएन पाथीभरामा चढाइएको सुन

blog

पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरि लिलामीका लागि तयार पारेको सुन । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बु

फुङलिङ, चैत ११ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि पाँचौ पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । 

मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटकपटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो ।

समितिसँग मौज्दात रहेको एक सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत गत फागुन २१ गते १५ दिने सूचना जारी गरि प्रतितोला न्यनतम तीन लाख १५ हजार चार सय रुपियाँबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।

१५ दिने सूचना जारी गरिए पनि कार्यालयमा कुनै आवेदन नपरेकाले सुन लिलामी हुन नसकेको बताइएको छ । समितिले लिलामीको लागि चालु आर्थिक वर्षमा दुई पटक र गत आर्थिक वर्षमा तीन पटक सूचना जारी गरेको थियो ।

चाँदी भने चौथो पटक सूचना गर्दा गत पुष अन्तिम साता लिलाम भएको छ । समितिसँग रहेको पाँच हजार दूई सय ९८ तोला चाँदी प्रतितोला चार हजार तीन सय रुपियाँमा लिलाम भएको समितिले जनाएको छ ।