फणिन्द्र अधिकारी
लेखनाथ, चैत ११ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेस्टुरेन्टमा आगलागी भएको छ । मङ्गलबार दिउँसो भएको आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको लज सञ्चालक सुवास गुरुङले जानकारी दिनुभयो ।
दिउँसो करिब ४ बजेतिर खाना पकाउने ग्यास लिक भएर आगलागी भएको एबिसीका पर्यटन व्यवसायी मिकास गुरुङले बताउनुभयो । आगो मङ्गलबार नै नियन्त्रणमा आए पनि लज पूर्णरूपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ ।
"खाना पकाउने ग्यास लिक हुँदा पिसफुल लजमा दिउँसो आगलागी भएको हो, आगलागीले लजको स्टोर, कोठा, भान्छा र हलका साथै पर्यटकका मोबाइल र क्यामेरासमेत जलेका छन्," व्यवसायी गुरुङले भन्नुभयो ।
एबिसी क्षेत्रमा हाल होटल र लज गरी छ वटा सञ्चालनमा छन् । पिसफुल लज सुवास गुरुङ, ज्ञानबहादुर गुरुङ, सुकमाया गुरुङ र कर्णबहादुर गुरुङले संयुक्त रूपमा सञ्चालन गर्दै आउनुभएको थियो । अन्नपूर्ण गाउँपालिका-११ का वडाध्यक्ष भीमबहादुर गुरुङले आगलागीको जानकारी आएको र क्षतिको थप विवरण सङ्कलन भइरहेको बताउनुभयो ।