काठमाडौँ, चैत ५ गते । एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्बाध रूपमा आवतजावत तथा व्यापार गर्न सकिने अवधारणासहितको पूर्वपश्चिम राजमार्गको गोरुसिङ्गे–चन्द्रौटा खण्ड विस्तार गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । एसियन राजमार्ग निर्माण कार्यक्रम अन्तर्गत नै अहिले पूर्वपश्चिम राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरी विस्तार भइरहेको छ ।
सो राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक अन्तर्गत तेस्रो खण्ड (गोरुसिङ्गे–चन्द्रौटा) लाई सहरी क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्न ठेक्का आह्वान गरिएको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ । महाशाखा प्रमुख तथा सडक विभागका उपमहानिर्देशक ई. अर्जुन अर्यालले यो खण्डको १९.२ किलोमिटर विस्तार गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । इच्छुक निर्माण कम्पनीले २०८३ वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको राजमार्गको यस खण्डमा आठ वटा नयाँ पुल र जनावर आवतजावतका लागि सात वटा ‘एनिमल अन्डरपास’ निर्माण गरिने महाशाखा प्रमुख अर्यालले जानकारी दिनुभयो ।
भौतिक प्रगति २२.२५ प्रतिशत
यसअघि ठेक्का व्यवस्थापन भई विस्तार सुरु भएको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डको अहिलेसम्म भौतिक प्रगति २२.२५ पुगेको छ । राजमार्ग खण्डको ५० किलोमिटर खण्डको अहिले विस्तार भइरहेको छ । यसको कुल लागत १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४४१ रुपियाँको लागतमा यस खण्डको विस्तार भइरहेको छ ।
राजमार्गको यस खण्डमा २०८१ असारमा ठेक्का सम्झौता भई कात्तिक ४ देखि काम सुरु भएको हो । यस खण्डमा ३० वटा पुल, ११५ कलभर्ट, छ वटा सवारी अन्डरपास, १२ वटा पैदलयात्रु अन्डर पास, ११ वटा आकासे पुल र १९ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् ।
सहज ट्राफिक व्यवस्थापन तथा सवारीसाधन र पैदलयात्रीको निर्बाध आवतजावतका लागि बुटवल–गोरुसिङ्गे खण्ड अन्तर्गत रुपन्देहीको नयाँगाउँ, तामनगर, मुर्गे, बुद्धनगर, चार नम्बरमा र कपिलवस्तुको जितपुरमा ‘अन्डरपास’ निर्माण गर्ने गरी सम्झौता गरिएको छ । यीमध्ये रुपन्देहीको नयाँगाउँ, तामानगर र कपिलवस्तुको जितपुर चोकमा अन्डरपास निर्माण सुरु भइसकेको महाशाखा प्रमुख अर्यालले जानकारी दिनुभयो । त्यसै गरी सो राजमार्गमा पैदलयात्रीको सहज आवागमनको व्यवस्था मिलाई दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ११ स्थानमा आकासे पुल निर्माण भइरहेको छ । बेलबास, बमाहा बजार, रानी वनगाई चोक, सालझन्डी, पिपराह, वनगङ्गा, बुद्धभूमिलगायत स्थानमा आकासे पुल निर्माण भइरहेका छन् । राजमार्गको यस खण्डमा जनावरको सहज आवागमन व्यवस्थापनका लागि वनगाई–गोरुसिङ्गे जङ्गल क्षेत्रमा १० वटा, सालझन्डी–पिपरा खण्डमा चार वटा र अन्य जङ्गल क्षेत्रमा पाँच वटा गरी कुल १९ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् । यस खण्डको ठेक्का निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन लिमिटेड/आशिष निर्माण सेवा प्रालि (संयुक्त) ले पाएको हो ।
एसियाली राजमार्गमा नेपाल
नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए’ क्लासको एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. केशवकुमार शर्माले मेची नदीमा पुल निर्माण भएसँगै नेपालको पहुँच सीमापारि निर्माण गरिएको ‘ए’ क्लासको ‘एसियन हाइवे’ सँग जोडिएको छ । यसअघि सीमापारि पनि ‘ए’ क्लासको ‘एसियन हाइवे’ निर्माण गरिएको थिएन । नेपालको पूर्वपश्चिम राजमार्ग र अरनिको राजमार्ग ‘एसियन हाइवे’ अन्तर्गत पर्छ । पूर्वपश्चिम राजमार्ग ‘एसियन हाइवे’ को रुट–२ र अरनिको राजमार्ग रुट–४२ अन्तर्गत पर्छन् ।
“एसियन हाइवेको विभिन्न स्ट्यान्डर्ड हुन्छन् । अहिले एसियन हाइवेमा परेका नेपालका दुई राजमार्ग ‘सी’ क्लास अन्तर्गत पर्छन्,” सचिव शर्माले भन्नुभयो, “यी दुई राजमार्गलाई चार लेनमा विस्तार गरी मापदण्ड पूरा गरेपछि ‘ए’ क्लासमा स्तरोन्नति हुन्छ ।”
उहाँका अनुसार एसियन हाइवेको रुट–२ थाइल्यान्डको बैङ्ककबाट सुरु भई बर्मा (म्यान्मार) हुँदै बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्ग भएर वनवासा र त्यहाँबाट भारतको दिल्ली हुँदै पाकिस्तानको कराँची पुग्छ । त्यसै गरी एसियन हाइवेको रुट–२ अन्तर्गत भारतको रक्सौल हुँदै नेपालको वीरगन्ज, नारायणगढ, काठमाडौँ भएर अरनिको राजमार्गको धुलिखेल, बाह्रबिसे, तातोपानी हुँदै चीनको ल्हासासम्म पुग्छ ।