इस्लामावाद, चैत ११ गते । मध्यपूर्वमा जारी युद्धबिच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीले गरेका छन् । यद्यपि तेहरानले औपचारिक रूपमा यस्तो वार्तामा संलग्न नरहेको अडान दोहोर्याउँदै आएको छ ।
बुधबार दुई पाकिस्तानी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिँदै उक्त प्रस्ताव इरानसम्म पुगेको बताएका हुन् । उनीहरूका अनुसार प्रस्तावमा युद्ध अन्त्यतर्फ उन्मुख विभिन्न महत्त्वपूर्ण पक्ष समेटिएका छन्, जसले क्षेत्रीय तनाव कम गर्ने उद्देश्य राखेको देखिन्छ ।
प्रस्तावका मुख्य बुँदामा इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने, नागरिक प्रयोजनका लागि आणविक ऊर्जा क्षेत्रमा सहयोग गर्ने तथा इरानको विवादास्पद आणविक कार्यक्रमलाई सीमित वा फिर्ता गर्ने विषय समावेश गरिएको बताइएको छ । साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीमार्फत अनुगमन गर्ने व्यवस्था, मिसाइल क्षमतामा सीमा निर्धारण गर्ने तथा पर्सियन खाडीको संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित ढुवानी सुनिश्चित गर्ने विषय पनि प्रस्तावमा समेटिएको जनाइएको छ ।
अधिकारीले विस्तृत विवरण सार्वजनिक गर्न आफू अधिकृत नभएको बताउँदै प्रस्तावको समग्र स्वरूप भने व्यापक कूटनीतिक प्याकेजका रूपमा रहेको सङ्केत गरेका छन् । यद्यपि, इरानले अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न नभएको स्पष्ट पार्दै आएको छ । बुधबार एक सैन्य प्रवक्ताले अमेरिकी कूटनीतिक प्रयासप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया जनाउँदै तेहरान आफ्नो अडानमा दृढ रहेको सङ्केत गरेका छन् ।
यस घटनाक्रमले एकातर्फ शान्ति प्रयास अघि बढिरहेको सङ्केत गरे पनि अर्कोतर्फ दुवै पक्षबिचको अविश्वास अझै कायम रहेको देखाउँछ, जसका कारण प्रस्तावको भविष्य अनिश्चित नै देखिएको छ । रासस/एपी