• ११ चैत २०८२, बुधबार

धनुषामा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

blog

दुर्घटनामा परेको पिकअप । तस्बिर: विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, चैत ११ गते । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम लोकमार्गमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प. १८९५ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मधेश प्रदेश ०२–००१ च. १६४७ नम्बरको महिन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा धनुषाधाम नगरपालिका–६ का ५५ वर्षीय समीम खानको मृत्यु भएको छ । उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५० वर्षीय विनोद सिंह घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।