चितवन समाचारदाता
चितवन, जेठ २३ गते । यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो । केरा किसानलाई यस्तो समस्या यस वर्षमात्र परेको होइन । गत वर्ष पनि यस्तै क्षति हुँदा बिमाले कृषकलाई राहत दिने भनिए पनि बिमा रकम पाउन सकेका छैनन् ।
सङ्घका अध्यक्ष महतोका अनुसार जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएकामा ३० प्रतिशत केराको बोट हुरीले लडाएर काम नलाग्ने बनाएको छ । जिल्लाका विभिन्न स्थानलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय चितवनले केरा जोन क्षेत्र अन्तर्गत कार्यक्रम गर्दै आएको छ । उक्त कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले केरा सुपर जोन अन्तर्गत मात्रै एक हजार ८५० हेक्टरमा खेती हुँदै आएको बताउनुभयो ।
जोन क्षेत्रमा लगाइएको केरा खेतीमा मलभोग प्रजातिको केरामा धेरै र हरियो जातका केरा जी नाइनमा कम क्षति भएको छ । जोन अन्तर्गतका केरा बालीमा करिब ३० प्रतिशत लडाएर काम नलाग्ने गरी नोक्सान भएको छ ।
जोन क्षेत्रका केरा उत्पादक विष्णुहरि पन्तले भने गत वर्षको तुलनामा यस वर्ष केही कम नोक्सान पुगेको बताउनुभयो । क्षतिको विवरण बिमा कम्पनीले लिँदै गरेको जानकारी उहाँले दिनुभयो ।
बिमा कम्पनीले गत वर्ष क्षति भएको रकम नदिएको सङ्घका अध्यक्ष महतोले जानकारी दिनुभयो । गत वर्षको क्षतिको चार करोड रुपियाँ पाउन धेरै पटक पहल गर्दासमेत कम्पनीले दिन नमानेको र सरकारले बजेट नदिएका कारण दिन नसकिएको जानकारी दिने गरेको अध्यक्ष महतोले बताउनुभयो । केराको प्रतिबोटको बिमाको रकम किसानले २० प्रतिशत र सरकारले ८० प्रतिशत प्रिमियम तिर्दै आएको छ ।
बिमाको रकम नपाएको भन्दै किसानले पहल गरिदिन अनुरोध गर्न आउने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय चितवनका सूचना अधिकारी अधिकारीले बताउनुभयो । चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिकामा व्यावसायिक केरा खेती हुँदै आएको छ । यहाँको केरा जिल्लाको बजार र काठमाडौँ, पोखरा मुख्य बजार रहेको छ ।