• ३० असार २०८२, सोमबार

पिकअपसँग जुध्दा मोटरसाइकलमा आगलागी, सिपाहीसहित पाँच घाइते

blog

पिकअपसँग ठोक्किएपछि आगलागीबाट जलेको मोटरसाइकल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार ३० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिक सोमबार रेल्वे ट्रयाकमा पिकअप र मोटरसाइकल जुध्दा पाँचजना घाइते भएका छन् ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ । सोमबार बिहान पौने ११ बजेतिर बाँके–सङ्ग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्बरको पिकअप आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक नेपाली सेनाको भगवती दल गण इटहरीमा कार्यरत सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकल पछाडि सवार नेपाली सेनाकै मध्यपश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी घाइते हुनुभएको छ । मोटरसाइकलमा सवार तीनैजना ईश्वरपुर १५ का स्थानीय हुनुहुन्छ । उहाँहरुमध्ये मोटरसाइकल चालक चन्द्रदेव धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पिकअपसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी हुँदा धामीको शरीको अधिकांश भाग जलेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक  उमाकान्त जोशीले जानकारी दिनुभयो । नेपाली सेनाका सिपाही धामी बिदा सकेर कार्यालयतर्फ जान बाँके चोकमा बस चढ्नका लागि साथीसँग आउँदै गर्दा दुर्घटनामा पर्नुभएको हो ।

गम्भीर घाइते सिपाही धामीलाई थप उपचारका लागि मोडेल अस्पताल लालबन्दीबाट काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर मगाइएको छ । नवलपुरस्थित कालिध्वज गण पाँचकुमारी ब्यारेकमा सेनाको हेलिकप्टर मगाइएको प्रमुख सेनानी (कर्णेल) गोविन्द विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते हुनुभएको छ ।

मोटरसाइकल पछाडि सवार दुईजना, पिकअप चालक र पिकअपमा सवार व्यक्तिको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइते चारजनाको पनि मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको केशरगन्जका प्रहरी निरीक्षक जोशीले बताउनुभयो । जोशीका अनुसार, पिकअपसँग ठोक्किएपछि आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेको छ ।

पिकअप गाडीमा भने आगलागी नभएको प्रहरीले जनाएको छ । पिकअपको अगाडिको भागमा मात्रै क्षति पुगेको छ ।

पूर्व पश्चिम राजमार्गको बाँके चोकदेखि करिब एक किलोमिटर दक्षिणतर्फ एकान्त स्थानको जङ्गलमा दुर्घटना हुनासाथ स्थानीय र प्रहरी पुगेर घाइतेको उद्धार गरेका थिए ।