• ३० असार २०८२, सोमबार

दुई दल मिल्दा राजनीतिक स्थायित्व भयो : उपसभापति खड्का

blog

सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू । तस्बिर : उपसभापति खड्काको सचिवालय

सुर्खेत, असार ३० गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दल मिलेकाले तीनै तहका सरकार स्थिर भए पनि काममा केही गुनासा रहेको बताउनु भएको छ । 

उहाँले अहिले राजनीतिक स्थिरता भए पनि सेवा प्रवाह सोचेजस्तो भएन भन्ने गुनासाहरु रहेको बताउँदै सत्तामा रहेका राजननीतिकर्मीहरुले नै असन्तुष्टि बाँड्ने काम भइरहेको चर्चा गर्नुभयो । 

 सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति खड्काले भन्नुभयो, ‘‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्, तीन तहका सरकारहरुले गरेका कम, भएका कमजोरी र देशको अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी नदिई राजनीतिकर्मीहरुले नै चोक, चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम भइरहेको छ ।’’

जिम्मेवारीमा रहेकाहरु लोभमुक्त भए धेरै सुधार हुने धारणा राख्दै उपसभापति खड्काले भन्नुभयो, ‘‘राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्‍यो, लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ, डरबाटमुक्त भएको मानिस शीर ठाडो गरेर हिँड्छ ।’’

उहाँले यस पटकको केन्द्रीय समिति बैठक ऐतिहासिक भएको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले सबैलाई आफ्‌ना कुराहरु खुलस्त राख्न भन्नुभयो, सबैले आ–आफ्‌ना कुरा राख्नुभयो, सात दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गर्‍यो, उपस्थिति, प्रस्तुति र निर्णयका हिसावले यो बैठक ऐतिहासिक रह्यो ।’’

 उहाँले बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरुको समीक्षा भएको जानकारी दिनुभयो ।  उहाँले अनुशासन समितिको निर्णय केन्द्रीय समितिले नगर्ने चर्चा गर्दै भन्नुभयो, ‘‘पार्टी विधानले केन्द्रीय अनुशासन समितिले गरेको निर्णय चित्त नबुझ्‌ने व्यक्तिहरुले केन्द्रीय सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न पाउने व्यवस्था छ ।’’ 

उपसभापति खड्काले क्रियाशिल सदस्यता वितरण, नवीकरणलगायतका विषयमा विधानले नै जिल्लालाई अधिकार दिएको बताउँदै सदस्यता वितरण, नवीकरणलगायतका कामलाई तत्काल अघि बढाउन निर्देशन दिनु भयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले पार्टी सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रुपमा अघि बढाउन निर्देशन पनि दिनुभयो । 

संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिनुपर्ने जनताका इच्छा र आकांक्षा अनुसार तीव्र गतिमा कामहरु गर्न पनि उहाँले जोड दिनुभयो ।