केदार तिमल्सिना
बनेपा, असार ३० गते । सडक निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीले सडक डिभिजन कार्यालयविरुद्ध हालेको उत्प्रेषण मुद्दा अदालतल खारेज गरेको छ । निर्धारित समय र थप गरिएको समयमा समेत अरनिको राजमार्गको धुलिखेल–खावा सडक निर्माणको काम नगर्ने गौरी पार्वती निर्माण सेवा प्रालिले सडक डिभिजन भक्तपुरविरुद्ध हालेको उत्प्रेषण मुद्धा खारेज गरेको हो ।
गत बुधबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्का र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले डिभिजन सडक कार्यालय भक्तपुरविरुद्ध हालेको उत्प्रेषण मुद्धा खारेज गर्ने फैसला गरेको हो । सडक डिभिजनले अरनिको राजमार्गको धुलिखेलदेखि खावा सम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तारको काममा ढिलाइ गरेपनि सडक विस्तारको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिसँगको सम्झौता गत फागुन १५ गते अन्त्य गर्ने निर्णय गरेको थियो ।
सडकको ठेक्का अन्त्य गर्ने निर्णय आएसँगै निर्माण व्यवसायी कम्पनीले फागुन १९ गते उच्च अदालत पाटनमा उत्प्रेषण मुद्धा दायर गरेको थियो ।
डिभिजनले निर्माण व्यवसायीसँगको ठेक्का अन्त्य गरेपछि पिबी (परर्फमेन्स बण्ड) र एपिजी (एड्भान्स पेमेन्ट ग्यारेन्टी) तान्नका लागि बैङ्कहरुलाई पत्राचार गर्ने, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णयको बिरुद्धमा निर्माण व्यवसायीले अदालतमा दर्ता गरेको मुद्धा गत बुधबार खारेज गर्ने फैसला गरेको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले उच्च अदालतले निर्माण व्यवसायीले डिभिजनविरुद्ध दायर गरेको मुद्धा खारेज गरेसँगै कार्यालयलाई सडक विस्तारको काम गर्नको लागि थप बाटो खुलेको बताउनुभयो ।
“हामी विरुद्धको मुद्धा खारेज भएसँगै अब निर्माण व्यवसायीलाई कालोसुचीमा राख्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाउँछौ, यस्तै कार्य सम्पादन जमानत तान्न बैङ्कलाई पत्र पठाउनुको साथै उक्त निर्माण व्यवसायीले गर्नुपर्ने बाँकी काम गर्न लाग्ने रकम असुल गर्ने र उसले गरेको तर हाल बिग्रेको कामको रकम समेत असुल गर्ने प्रक्रिया अघि बढाउने छौँ,” सिडिई योगेशले भन्नुभयो । डिभिजन सडक भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो ।
सडक निर्माणको सम्झौता भएको २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने उल्लेख थियो । धुलिखेल–खावा सडकको ठेक्का पाएको निर्माण कम्पनीको २०८० चैत १९ बाट म्याद सकेर हर्जना तिराएर काम लगाएको तथा पटक÷पटक स्पष्टिकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नआएपछि डिभिजनले ठेक्का अन्त्य गरेको थियो । धुलिखेल–खावा सडक स्तरोन्नतीका लागि निर्माण कम्पनीसँग भ्याटसहित २० करोड १९ लाख रुपियाँमा सम्झौता भएको थियो ।
सडक निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवाले धुलिखेलदेखि पकुचासम्मको दुई किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस गर्ने काम सकेर कालोपत्रे गर्ने अवस्थामा पुर्याए पनि गत असोज महिनाको बाढीपहिरोका कारण क्षति गरेको थियो ।
उक्त कम्पनीले पकुचाभन्दा तलको दुई किलोमिटर सडकमा भने हालसम्म कुनै काम गरेको छैन । तत्कालिन निर्माण कम्पनीसँगको ठेक्का अन्त्य गरेपछि डिभिजन सडकले बाँकी काम सम्पन्न गर्नका लागि ४२ करोडको नयाँ लागत स्टिमेट तयार गरेको छ भने नयाँ ठेक्को प्रक्रिया अघि बढाएको छ ।
यस वर्षको वर्षायाममा सडक अवरुद्ध हुन नदिनका लागि डिभिजनले सडकको सतह मिलाउने लगायतको मर्मतको काम गर्दै आएको छ । सिडिई योगेशले धुलिखेलदेखि खावासम्मको सडक विस्तारको नयाँ बोलपत्र यही महिनाभित्र निकालिने तयारी भइरहेको बताउनुभयो ।