• ३० असार २०८२, सोमबार

ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ

blog

ताप्लेजुङको बहानन्देमा रहेको कञ्चनजङ्घा कृषि फर्ममा धान रोप्दै रोपाहारहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङ्लिङ, असार ३० गते । ताप्लेजुङमा ३९.६३  प्रतिशत रोपाइँ भएको छ । यो वर्षको असार २९ गते सम्ममा ताप्लेजुङमा ३९.६३  प्रतिशत धान रोपाइँ  भएको हो ।

गत वर्षको यही अवधिको तुलनामा यो वर्ष ताप्लेजुङमा धान रोपाइँ ७ प्रतिशतले कम भएको छ । गत वर्षको असार २९ गते सम्ममा ४६.३० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ताप्लेजुङमा कुल पाँच हजार ६६६ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ  हुने गर्दछ ।  अहिलेसम्म दुई हजार २४५ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ भएको छ । विषेशगरि गत वर्षको तुलनामा यो वर्ष वर्षा कम भएका कारण रोपाइँ हुन नसकेको कृषि प्रसार अधिकृत श्रेष्ठको भनाइ छ । अहिले पनि कृषकहरू आकासे पानीमा नै निहित छन् ।

यस वर्ष पानी नपरेका कारण कृषहरू चिन्तित बनेका छन् । “रोपाइँ  गरौँ त पानी छैन भर आकाशकै छ” मेरिङदेन गाउँपालिका ३ दोभानका कृषक हस्त लिम्बू भन्न हुन्छ । गत वर्ष यो अवधिमा उहाँले धान रोपाइँ सक्नुभएको थियो । तर यो वर्ष पानी नपरेका कारण उहाँले रोपाइँ  नै गर्नुभएको छैन ।

यता कृषि प्रसार अधिकृत श्रेष्ठ भने यो वर्ष सरदरभन्दा धेरै पानी पर्ने भएकाले रोपाइँ धेरै हुने अनुमान गर्नुहुन्छ । कृषक लिम्बूको पनि आशा त्यही नै छ ।