काठमाडौँ, असार ३० गते । मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा जित निकालेका छन् ।
एन्फा मैदान सातदोवाटोमा सोमबार भएको खेलमा मनाङले साविक विजेता चर्च ब्वाईज क्लबलाई ४–३ गोलले हरायो । मनाङको जितमा राम आर्जेलले दुई गोल गर्नुभयो । रोहन थापामगर र धर्विन्द्र बोहराले एक एक गोल गर्नुभयो ।
चर्च ब्वाईजका लागि सुशान थापामगरले दुई तथा सुजित लामाले एक गोल गर्नुभयो । जितसँगै चार खेलबाट १० अङ्क बनाएको मनाङ दोस्रो स्थानमा छ । चर्च ब्वाईजले समान खेलबाट तीन अङ्क बनाएको छ ।
यस्तै अर्को खेलमा फ्रेन्ड्सले विभागी टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले हरायो । एक पक्षीय खेलमा पुरन श्रेष्ठ र मन्दीप ढुङ्गेलले एक एक गोल गर्नुभयो ।
फ्रेन्ड्सले अर्को गोल आर्मीबाट आप्मघाती उपहार पाएको थियो । लिगमा चार खेल सकेको फ्रेन्ड्सको यो तेस्रो जित हो । यता आर्मिले समान खेलमा तेस्रो हार खेपेको छ ।