• ३० असार २०८२, सोमबार

यानिकलाई पहिलो पटक विम्बल्डन उपाधि

blog

विम्बल्डन उपाधिसहित यानिक सिनर । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ, असार ३० गते । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक इटालियन खेलाडी यानिक सिनरले जित्नुभएको छ ।

आइतबार राति भएको फाइनलमा यानिकले दुई पटकको साविक विजेता कार्लोस आल्कारेजलाई ४–६, ६–४, ६–४, ६–४ को सेटमा हराउँदै पहिलो पटक उपाधि जित्नुभएको हो ।

यससँगै यानिकले विश्व नम्बर दुई वरीयताका आल्कारेजसँग फ्रेन्च ओपनमा खेपेको हारको बदला लिनुभएको छ । विम्बल्डनको उपाधि जित्ने पहिलो इटालियन खेलाडी बन्नुभएका २३ वर्षीय यानिकको यो चौथो ग्रान्डस्लाम उपाधि हो । उहाँले यसै वर्ष अस्ट्रेलियन ओपनको उपाधि रक्षा गर्नुभएको थियो । 

उहाँले गत वर्ष पहिलो पटक युएस ओपन टेनिस जित्नुभएको थियो । यता यानिकसँग हार खेप्न बाध्य २२ वर्षीय आल्कारेजको छैटौँ ग्रान्डस्लाम जित्ने योजना सफल भएन । उहाँले ग्रान्डस्लामको फाइनलमा पहिलो हार समेत खेप्नुभयो ।

महिलातर्फको उपाधि भने यसअघि शनिबार पोलिस खेलाडी इगा स्वाइटेकले जित्नुभएको छ । फाइनलमा स्वाइटेकले अमेरिकाकी अमान्दा अनिसिमोभालाई ६–०, ६–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभएको हो । एजेन्सी