• ३० असार २०८२, सोमबार

दाउन्नेमा यात्रुलाई सास्ती, व्यापारी निराश

blog

दाउन्ने सडक। तस्बिर : न्युज एजेन्सी नेपाल ।

काठमाडाैं, असार ३० गते । निर्माण सुरु भएको लामो समय बित्दासमेत दाउन्ने–बुटवल सडकखण्ड फराकिलो बनाउने कार्य पूरा हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

राजमार्ग हुँदै आवाजजावत गर्ने यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरु बर्खामा हिलो र हिउँदमा धुलो धुवाँले प्रभावित बनेका छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरुमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारणले पहिलेको तुलनामा आधाभन्दा बढी व्यापार सुकेकाे व्यापारीहरु बताउँछन् ।

दाउन्ने सडकको छेवैमा होटल चलाएर यात्रुलाई खाना खुवाउँदै आउनुभएका पदमबहादुर पोखरेलले विगत पाँच-सात वर्षदेखि धुलो धुवाँ प्रदूषण झेल्नुपरेको बताउनुभयो । उहाँका अनुसार बाटोले गर्दा व्यापार चौपट छ ।

होटल व्यवसायी पोखरेलले भन्नुभयो, "बाटो समयमै नसकिँदा अहिले यो बाटो गाडीहरु चल्नै छाडेका छन् । सुनसान छ । पहिला होटलमा गनिसाध्यै नहुने गरी मान्छे आउँथे । मान्छे अलि कम आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले सडकको पहिलेको तुलनामा केही काम त भएको छ । अहिलेकै गतिमा काम भयो भने त अर्को वर्ष पूरा हुन्छ कि जस्तो लाग्छ ।"

व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उहाँले छिटोभन्दा छिटो सडक निर्माणको काम सक्नुपर्ने बताउनुभयो । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माणको काम भइरहे पनि तीव्र हुन नसक्नुमा व्यवसायीको आ—आफ्नै समस्या रहेको बताउनुभयाे । उहाँले निर्माणको काम समयमै नहुनुमा राज्य मुख्य दोषी रहेको बताउनुभयाे ।

महासचिव दाहालले भन्नुभयो, "निर्माण व्यवसायीहरुको आ—आफ्नै समस्या छ । राज्यले गर्नुपर्ने सम्पूर्ण काम नगरिदिँदा व्यवसायी अझ समस्या फसेका हुन् । ठाउँठाउँमा सिंहदरबार राज्यले भनिरहेको अवस्थामा तर गर्नुपर्ने सेवा र संरचना निर्माण गर्दा होस् नपुर्‍याएका कारणले सम्पूर्ण निर्माण कार्य ढिलाे भएको छ र नागरिकलाई गाह्रो परेको हो ।" उहाँका अनुसार निर्माण व्यवसायीका समस्या राज्यले सुनिदिनुपर्छ । निर्माणको काम द्रुत बनाउने वातावरण बनाइदिनुपर्छ ।