• ३० असार २०८२, सोमबार

इक्राहा शिवनगर जोड्ने झोलुङ्गे पुल निर्माण

blog

उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा शिवनगर जोड्ने त्रियुगा नदीमा बनाउन थालिएको झोलुङ्गे पुलको शिलान्यास गरी शुभारम्भ गर्नुहुँदै सङ्घीय सांसद डा.नारायण खड्का । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, असार ३० गते । उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित मदनभण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा लामोतरीको पाँचसय ५७ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुुरु भएको छ । 

सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा अबको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी थानी निर्माणसेवा काठमाडौंले उक्त पुल बनाउन सुरु गरेको हो ।

वर्षाैंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्च जोखिम मोल्दै आएका स्थानीयकाबिच पुल निर्माणको शिलान्यास गरी शुभारम्भ गर्नुहुँदै सो क्षेत्रका सङ्घीय सांसद एवम पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले विकासको मेरुदण्ड भनेकै पूर्वाधार निर्माण रहेको बताउनुभयो । उहाँले पुल नहुँदा अनेकौ समस्यामा रहेका यस क्षेत्रका स्थानीयको आजबाट यो एउटा समस्याको अप्ठ्यारो परिस्थितिको समाप्तिको सुरुवाती बिन्दु भए पनि अन्य समस्या समाधानका लागि आफू सधैंका लागि पर्ने र अवका दिनमा पनि यस क्षेत्रको समग्र विकासका लागि सरकारसँग थप योजना माग गर्न आफ्नाे वुताले भ्याएसम्म प्रतिबद्ध रहेको बताउनुभयो ।

चौदण्डिगढी नगरपालिका १० मा रहेका इक्राहा, खैरहा, शिवनगर, हडिया, अँधेरी, मुसहर्निया लगायतका करिब सात सय घरपरिवारका मानिसलाई यो पुलबाट प्रत्यक्ष फाइदा पुग्नेछ । विशेषगरी बिरामी, सुत्केरी, विद्यालय जाने र आउने बालबालिका तथा काम कागजका लागि सदरमुकाम गाईघाट आवतजावत गर्न झोलुङ्गे पुल नहुँदा निकै समस्या हुने गरेकोमा अब भने त्यस्तो समस्या विस्तारै हटेर जाने निश्चित भएको स्थानीयहरुको भनाइ छ ।