• ३१ असार २०८२, मङ्गलबार

जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैन: मन्त्री अधिकारी

blog

काठमाडौँ, असार ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताउनुभएको छ ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले आफू जनताको काम गर्न गएकाले कुनै पनि गलत काम नगर्ने स्पष्ट पार्नुभएको हो । उहाँले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताउनु भयो । सरकारले अघि सारेका कुरामा गल्ती औँल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको बताउनु भयो ।

नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गर्नुभयो नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा पहिला आफूलाई हेरेर अरूमाथि दोष लगाउन अध्यक्ष दाहाललाई आग्रह गर्नुभयो । 

 मन्त्री अधिकारीले भन्नुभयो, ‘मैले गल्ती गर्दिन, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईँहरू ढुक्क हुनुस् । तपाईँ हामीले पहिला आफूलाई हेरौँ अनि बल्ल अरूलाई प्रश्न गरौँ । सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुस् । सरकारले अघि सारेका कुरामा गलत भयो भनेर औँल्याइदिनुस्, हामी सुधार गर्छौँ ।’

मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताउनु भयो ।