काठमाडौँ, जेठ २३ गते । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो ।
विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहकमा प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गर्नु भएको हो ।
प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई दिनुभयो । नेपाली सेनका पूर्व जनरल साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै पठकलाई रोचक रहेको जाकारी दिनुभयो ।
दुई लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको जनाउनु भयो ।
समारोहका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यस्ता पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिनु भयो ।
कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको दाबी गर्नुभयो ।
पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनी माथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको जानकारी दिनुभयो ।