• २४ जेठ २०८२, शनिबार

विद्यार्थी सङ्गठनको बन्धक बन्दै विश्वविद्यालय

blog

काठमाडौँ, जेठ २४ गते । विद्यार्थीको एउटा समूहले केही दिनअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्दै तिनै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरे । उनीहरूले विश्वविद्यालयको भौतिक सम्पत्तिमा तोडफोड र तालाबन्दी मात्रै गरेनन् केन्द्रीय पदाधिकारीलाई भौतिक आक्रमणको धम्कीसमेत दिए । 

उक्त धम्कीपछि विश्वविद्यालयले सार्वजनिक रूपमै भौतिक सम्पत्तिको सुरक्षा गर्न, तोडफोडमा संलग्न र पदाधिकारीलाई धम्की दिने व्यक्तिलाई कानुनी कारबाही गर्न अनुरोध ग¥यो । तैपनि अहिलेसम्म ताला खुलेको छैन, दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन । 

सोही दिनदेखि विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार कार्यालय जान सकेका छैनन् । “हामी विश्वविद्यालयमा जान सक्ने अवस्था छैन । अति महत्वपूर्ण काम कीर्तिपुर परिसरभन्दा बाहिरका क्याम्पस तथा कार्यालयबाट सञ्चालन गरिरहेका छौँ,” त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले भन्नुभयो । 

दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय तथा अनुसन्धान केन्द्रमा गत पुस १२ गतेदेखि लागेको ताला शुक्रबार मात्रै खुलेको छ । त्यस्तै अर्को एक विद्यार्थी सङ्गठनले विभिन्न माग राखेर पाँच महिनाभन्दा धेरै दिन ताला लगाउँदा विश्वविद्यालयको सम्पूर्ण शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधि रोकियो । “तालाबन्दीका कारण तलब भत्ता नपाउँदा कतिपय कर्मचारीले घरखर्च चलाउन समस्या भोगिरहेका छन् । सुत्केरीले उपचार खर्च नपाएर अस्पतालमा छट्पटिनुपर्ने अवस्था छ,” विश्वविद्यालयका उपप्राध्यापक नवराज खतिवडाले भन्नुभयो, “सानोतिनो समस्यामा पनि ताला नै लगाइहाल्ने र विश्वविद्यालयको सम्पूर्ण गतिविधि ठप्प पार्ने क्रियाकलापले शैक्षिक वातावरणलाई नराम्रोसँग धमिल्याइरहेको छ ।”

आफूले भने अनुसार नभएको भन्दै गत वर्ष विद्यार्थीको एउटा समूहले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दले । दुई वर्षअघि बिएस्सी सिएसआइटी भर्नाको विषयमा कुरा नमिलेपछि अमृत साइन्स क्याम्पसका उपप्रध्यापक दिवाकर पाण्डेमाथि पनि आक्रमण गरेका थिए । यस्तै घटना त्रिचन्द्र क्याम्पसमा पनि भएको थियो । 

विश्वविद्यालय तथा क्याम्पसमाथि विद्यार्थीबाट हुने अराजक गतिविधि देखाउने यी केही प्रतिनिधि घटना मात्रै हुन् । अन्य विश्वविद्यालयमा पनि ताला लगाउने, कर्मचारी तथा पदाधिकारीलाई कालोमोसो दल्ने, पिट्ने जस्ता घटना हिजोआज सामान्य जस्तै बन्न थालेका छन् । विद्यार्थीको पेसागत हक अधिकारका लागि लडेको दाबी गर्ने विद्यार्थी सङ्गठनको ध्यान अन्यत्रै मोडिँदा यस्ता घटना बढिरहेका छन् । आक्रमण र तोडफोडमा संलग्नको स्पष्ट पहिचान हुँदासमेत कारबाही नहुँदा विश्वविद्यालयका नेतृत्व थप निरीह बनेका छन्, आन्दोलनमा उत्रने भने थप हौसिएका छन् । 

विश्वविद्यालय छिरे पनि पदाधिकारी कार्यकक्षमा कुनै पनि बेला आगजनी र तोडफोड हुन सक्छ भन्ने मनोवैज्ञानिक त्रासमा देखिन्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले शैक्षिक क्षेत्रमा तालाबन्दी गर्न नदिने मुख्य राजनीतिक दल र सरकारबिच साझा धारणा नबनेसम्म यस्ता घटनामा कमी ल्याउन नसकिने बताउनुहुन्छ ।

“पछिल्लो समय विद्यार्थीलाई देखाएर माउ पार्टीले राजनीति गर्ने क्रम देखिन थाल्यो । यस्तो अवस्थामा माउ पार्टी नसच्चिएसम्म विद्यार्थीलाई मात्र सुधार्न कठिन देखियो,” नेपालले भन्नुभयो । 

यस्ता कृत्य गर्नमा कुनै एक अमूक सङ्गठन मात्रै अघि छैनन् । आफूभन्दा फरक विचार तथा गुटका उपकुलपति नियुक्त हुनेबित्तिकै विविध माग तेस्र्याएर आन्दोलन गर्ने परिपाटी सबै जसो विद्यार्थी सङ्गठनमा छ । कतिपय घटनामा दोषी देखिएका कार्यकर्तालाई माउ पार्टीका नेताबाट नै संरक्षण दिने गरेको गुनासो पनि आउने गरेको छ । साथै विद्यार्थीमा पनि बाहिर देखिने गरी एउटा माग तेस्र्याउने र अदृश्य रूपमा अन्य फाइदा लिन खोज्ने प्रवृत्तिसमेत बढेको विश्वविद्यालयका पदाधिकारीको गुनासो छ । 

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा विद्यार्थी हकहितका लागि लडेको दाबी गर्ने विद्यार्थीबाट हुने यस्ता कार्य निन्दनीय भएको बताउनुहुन्छ तर यस्तो घटना निम्त्याउनुमा विश्वविद्यालयका पदाधिकारी पनि दोषी रहेको शेर्पा दाबी गर्नुहुन्छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा भएको घटना सामान्य रहे पनि प्रहरी प्रशासन र त्रिवि पदाधिकारीले बढाइचढाई गरेर प्रचारप्रसार गरेको शेर्पाको दाबी छ । 

पछिल्लो समय स्वदेशी विश्वविद्यालयको पढाइप्रति विश्वस्त हुन नसकेपछि विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिने क्रम बढिरहेको छ । विश्वविद्यालयभित्र पटक पटक हुने आक्रमण र तोडफोडका घटनाले झन् विद्यार्थीलाई बिदेसिन बाध्य बनाएको त्रिविका रजिस्ट्रार रिजाल बताउनुहुन्छ । “कुनै पनि विषयमा चित्त नबुझेमा असहमति जाहेर गर्नु तथा छलफल गर्नु स्वाभाविक प्रक्रिया हो तर अहिलेको २१ औँ शताब्दीमा पनि सधैँ तालाबन्दी र तोडफोडको घटनाले देश विदेशमा नकारात्मक सन्देश गएको छ,” रजिस्ट्रार रिजालले भन्नुभयो, “मन्त्रीदेखि प्रधानमन्त्रीसम्म यो घटनाका बारेमा जानकारी गराइएको छ तर समाधान भएको छैन ।”

त्रिविमा तालाबन्दीको घटनाको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि गम्भीर चासो व्यक्त गरेको छ । विश्वविद्यालयमा तोडफोडको घटनामा संलग्न हुनु अनुशासनहीन कार्य भएको बताउँदै मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले घटनाको अनुसन्धान गरेर दोषी पहिचान भएकालाई कानुनी दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श भइरहेको जानकारी दिनुभयो । 

यसअघि पनि त्रिविमा एकै सङ्गठनबाट चार सय दिनभन्दा बढी तालाबन्दी भएको थियो । विश्वविद्यालयमा आफ्नो माउ पार्टीभन्दा फरक धारबाट नेतृत्व गरेर उपकुलपति आउनेबित्तिकै तालाबन्दी तथा आन्दोलनमा उत्रने परिपाटी व्यापक बनेको छ । यस मामलामा अन्य विद्यार्थी सङ्गठन पनि अछुतो छैनन् । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।