नेपाली इतिहासमा विजयपुर कुनै समयको एक चर्चित राजधानीका रूपमा उल्लेख छ । यस राजधानीमा रहेर सेनवंशले लामो समयसम्म शासन चलाए । तत्कालीन चौतरिया मुरेहाङको हत्या भएपछि उनका छोरा बाजहाङले मकवानपुर राज्यबाट लोहाङ सेनलाई आमन्त्रण गरी त्यहाँका राजा विजयनारायण रायको शासन विस्थापित गरी सेनवंशको शासन सुरुवात गराएका थिए । यसबापत पुस्तौनी परम्परा अनुसार तत्कालीन विजयपुरमा लिम्बू चौतरिया अर्थात् मुख्यमन्त्री हुने चलन थियो ।
इतिहासविद् रमेश ढुङ्गेलले ‘प्राचीन नेपाल’ (सङ्ख्या ११३–भदौ असोज २०४६:४) मा उल्लेख गरे अनुसार ऐतिहासिक स्थल विजयपुरमा रहेर हिन्दुपति सेनले राज्य गरे पनि उनीहरू सांस्कृतिक रूपमा मात्र राजा थिए । त्यस क्षेत्रमा लिम्बूको आफ्नै किसिमको परम्परागत शासन चल्थ्यो । त्यहाँ १० जना दलपति लिम्बू हाङले वास्तविक शासन चलाउँथे । सुरुमा सेन राजा र लिम्बू चौतरियाबिच सुमधुर सम्बन्ध रहे पनि पछिल्लो समयमा यी दुई पक्षबिच शक्तिसङ्घर्ष चलेको इतिहास पाइन्छ । यस्तो शक्तिसङ्घर्षका क्रममा चौतरियाको योजना अनुसार एक जना राजा त मारिएको घटना विजयपुरको इतिहासमा उल्लिखित छ ।
राजा–चौतरियाबिच शक्तिसङ्घर्ष
पुरातत्व विभागले प्रकाशन गरेको ‘पुरातत्वपत्र सङ्ग्रह’ (२०१८:९–१९) लाई उद्धृत गर्दै इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१:४२७)मा उल्लेख गरे अनुसार त्यहाँ राजा र चौतरियाबिचको खचपच यस्तो छ :
कामदत्त सेनका संवत् १८१३ को स्याहामोहरमा रुजु देवान श्रीकान्त राय लेखिएकाले प्रारम्भमा राजा र दिवान मिलेका देखिन्छन् । संवत् १८१७ पौषवदि ९ को र संवत् १८१८ जेष्ठशुदि १५ को श्रीकान्त रायका स्याहामोहरमा राजाको नाम नलेखिएको देखिएकाले राजा कामदत्त सेन राजधानीमा देखिन्नन् । संवत् १८२० पौषवदिको स्याहामोहरमा राजा कामदत्त सेनको छाप लागेकोले दिवान रुजु नभएको हुनाले श्रीकान्त राय भागेका देखिन्छन् । संवत् १८२१ वैशाखशुदि ९ मा ‘राजभारा समर्थ देवान’ जसकर्ण रायका नाममा जारी स्याहामोहरमा राजा कामदत्त सेनको वास्ता नगरिएको हुनाले यस समय राजा भगाइएको देखिन्छ । संवत् १८२२ साल आश्विनशुदि १ को राजा कामदत्त सेनले विजयपुर मुकामबाट गरिलिएका स्याहामोहरमा देवान रुजु नरहेकाले यस समय जसकर्ण राय भागेका देखिन्छन् । संवत् १८२२ कार्तिकवदि १२ को ‘राजभारा सामर्थ’ जसकर्ण रायका स्याहामोहरमा राजाको वास्ता नगरिएको हुनाले राजा कामदत्त सेन फेरि भागेका देखिन्छन् । संवत् १८२४ साल माघशुदिका ‘राजभारा सामर्थ देवान’ बुद्धिकर्ण रायका स्याहामोहरमा राजाको वास्ता नगरिएकोले राजाका अनुपस्थितिमा नै आफ्ना पिताको उत्तराधिकारी भएर बुद्धिकर्ण राय विजयपुरका हर्ताकर्ता भएका थिए ।
यसरी राजा र मन्त्रीबिचको हानाथापकै क्रममा विजयपुरका राजा कामदत्त सेनले मन्त्री बुद्धिकर्णका भाइ बुधकर्णलाई कटाए र बुद्धिकर्ण रायलाई त्यहाँबाट भगाए । यो घटना हो, विसं १८२५ को । बुद्धिकर्ण रायले कामदत्त सेनको हत्याका लागि सिक्किमको सहयोग लिएका थिए । सिक्किमबाट भोटे सिपाही नाइके सेम्पा सैन्य दलसहित विजयपुरका राजा र मन्त्रीबिचको झगडा मिलाउन आए । कामदत्तलाई मोरङ झिकाइयो र त्यहीँ विक्रम संवत १८२६ मा कामदत्त सेनको हत्या गरियो । कामदत्त सेनको हत्यापछि उनका काका रघुनाथ सेन विजयपुरको गद्दीमा बसे । रघुनाथले बुद्धिकर्णविरुद्ध इस्ट इन्डिया कम्पनीसँग सैनिक सहयोग मागे तर रघुनाथको केही सिप लागेन । बरु बुद्धिकर्णले बिनाविघ्नबाधासँग विजयपुर पुगी चौदण्डीका राजा कर्ण सेनलाई बोलाएर यिनलाई विजयपुरका पनि नाम मात्रको राजा थापी ‘राजभारा सामर्थ’ उपाधि लिई विक्रम संवत् १८२६ मा विजयपुरका हर्ताकर्ता बने (आचार्य, २०६१:४१४–१६) ।
सुरुमै राजा महिपति सेनपछि उनका उत्तराधिकारी तोकिएका कामदत्त सेन अविवाहित रानीतिरका सन्तान भएकाले उनलाई त्यहाँका चौतरियाले राजा स्वीकार गर्न नसक्दा विजयपुरमा राजाका रूपमा स्थापित हुन उनले अनेकौँ प्रयास गर्नु परेको थियो । उनको ठाउँमा केही वर्ष जगत सेनलाई राजा थापिएको थियो । त्यसबेला विसं १८०८ वैशाखमा समानान्तर सरकार चलाइरहेका कामदत्त सेनले कुम राय नामका भारदारलाई राजाको हैसियतले लेखेको पत्र नै पाइएको छ । उनले त्यसबेला विजयपुर अड्न नसकेका उनले त्यहाँबाट उत्तरी क्षेत्रमा एक दिनको पैदलयात्रामा पुगिने हालः धनकुटाको मूलघाटलाई रोजमुकाम बनाएको पत्रमा उल्लेख छ ।
सेन राजाका लिम्बू रानी
राजा कामदत्त सेनले आफूलाई स्थापित गराउन अनेकौँ उपाय अवलम्बन गर्ने क्रममा पहाडी क्षेत्रका लिम्बूसँग सम्बन्ध सुधार गर्ने उपायस्वरूप उनले तत्कालीन आठराई थुमकी एक लिम्बू महिलासँग पनि वैवाहिक सम्बन्ध स्थापित गरेका थिए । ती महिला आङ्बुहाङ थरका सुब्बा (स्थानीय शासक) की चेली थिइन् । उनको नाम थाङसामा थियो । यो लेखमा यी रानीका बारेमा चर्चा गर्नुअघि उनको माइती खलकको ऐतिहासिक विरासतबारे केही चर्चा गर्न उपयुक्त हुन्छ ।
आङ्बुहाङको माङ्गेना यक (गढी) हस्तपुरलाई मानिँदै आएको छ । माङ्गेना यक (गढी) भनेको लिम्बूको वंशगत ऐतिहासिक राजनीतिक विरासत रहेको राजधानी हो ।
लिम्बूको यकको उल्लेख गर्दा इतिहासकार इडेन भ्यान्सिटार्टले आफ्नो पुस्तक ‘गुर्खाज’ (सन् १९१८:१०४)मा आङ्बुहाङको दुई ठाउँमा यक भएको उल्लेख गरेका छन् । तीमध्ये थोक्तोक्सु आङ्बुहाङले पोमाजोङ यक बनाएर आठराईमा शासन गरेको उनले उल्लेख गरेका छन् । यस्तै थिन्दोलुङ खोयाहाङले याङरूपमा हस्तपुर गढी बनाएको पनि उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
यता शिवकुमार श्रेष्ठले ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०५२:४०) मा आठराई इलाकामा आक्लुङहाङले शासन गरेको र उनले पोमाजोङ गढी बनाएको उल्लेख गर्दै याङरूप इलाकामा थिन्दोलुङ खोयाहाङले शासन गरेको र उनले हस्तपुर गढी बनाएको उल्लेख गरेका छन् । लिम्बूहरूमा आङ्बुहाङ र मेन्याङ्बो थिन्दोलुङ खोयाहाङकै सन्तान हुन् । बेला बेलामा लिम्बूका विभिन्न उपसमूहबिच शक्ति, सङ्घर्ष र युद्ध हुने गथ्र्यो । यही क्रममा योङ्याहाङ सुब्बाले याङरूपको हस्तपुर गढीमा आक्रमण गरिदिँदा त्यहाँका आङ्बुहाङ सुब्बा मुहाङकेप पराजित भए । उक्त गढीमा योङ्याहाङ (योङ्हाङ) ले कब्जा जमाए । त्यसपछि आङ्बुहाङ वंशी केही लिम्बू आठराई थुमको चाँगेमा बस्न गए भने केही थेचम्बुमा बस्न गए । थेचम्बुमा पुगेर बस्ने मेन्याङ्बो कहलाए (इमानसिंह चेम्जोङ, ‘किराँतकालीन विजयपुरको सङ्क्षिप्त इतिहास’– २०५९:६२) ।
त्यसबेला योङ्याहाङसँग पराजित हुने आङ्बुहाङ सुब्बाकी एक चेली थाङसामालाई विजयपुरका राजा कामदत्त सेनले विवाह गरी रानी बनाएका थिए । रानी थाङ्साङ्माले युद्धमा पराजित भएपछि आफ्ना दुई भदै लाहाङ र हाङसाम टुहुरा भई दुःख पाएर बसिरहेको खबर पाएपछि आफ्ना मानिस पठाई यी दुई राजकुमारलाई पहाडबाट विजयपुर झिकाइन् । यिनै दुई राजकुमारले सर्दुखोलाको बगरमा एक दिन एक ताँवाको मूर्ति भेटेपछि उनीहरूको दुःखका दिन हराए । यति महत्वपूर्ण मूर्ति फेला परेपछि राजा कामदत्त सेनले उनीहरूलाई डोलीमा राखी सम्मानसाथ बाजागाजासहित सर्दुखोलाको किनारदेखि विजयपुर दरबारसम्म ल्याउन आदेश दिए । यो मूर्तिलाई वराहक्षेत्रको वराह मन्दिरमा राख्न लगाइयो । त्यसपछि राजा कामदत्त सेनले यी दुवै राजकुमारलाई पहाडी ठाउँ आठराईमा लगेर त्यहाँको लिम्बूसँग सल्लाह गरी तिनीहरूको राजा तुल्याई राख्न लगाए (चेम्जोङ, २०५९:६२–६३) । राजा कामदत्त सेनले यी दुई राजकुमारका लागि उपयुक्त बासस्थल र राजधानीको खोजी गर्न आफ्ना अनुचरलाई पहाडी क्षेत्रमा पठाए । यो कामका लागि उनीहरू साँगुरी भन्ज्याङ, धनकुटा, बिब्ल्याँटे (वसन्तपुर), मेन्छ्यायम धाप, मङ्गलबारे, सोबुवा देउराली हुँदै फङ्फङ्देनसम्म पुगे । त्यहाँबाट तल हेर्दा नेसुन (थोरै बसेको) जग्गा देखे । त्यही जग्गा उपयुक्त हुने ठहर गरी राजा कामदत्त सेनलाई ती अनुचरले अवगत गराए । नेसुनको सल्लाघारीछेउमा दरबार बनाई बसेपछि आङं बुं हाङ (सल्लाबोटे राजा) हुँदै उनीहरू आङ्बुहाङ कहलाए (शेरबहादुर इङ्नाम, ‘इतिवृत्त’–२०७७:११) ।
आङ्बुहाङले चर्चिएको यो क्षेत्र ताप्लेजुङ जिल्लाको साबिकको चाँगे गाविस र हालः आठराई त्रिवेणी गाउँपालिकामा पर्छ । चाँगे क्षेत्रका आङ्बुहाङलाई तत्कालीन सेन राजाले दिएको विसं १७३३ र १७५४ को स्याहामोहर भेटिएकोले उनीहरूको राजनीतिक इतिहासको लहरो निकै लामो रहेको देखिन्छ । सर्दुखोलाको बगरमा भेटिएको ताँवाको मूर्तिका कारण आङ्बुहाङको राजनीतिक रूपमा शुभदिन फर्किएको इतिहासको सम्झना गर्दै आङ्बोहाङ परिवारले वराहक्षेत्रमा ‘ताँवालुङ माङ्हिम’ नामको मन्दिर नै स्थापना गरेका छन् । यो मन्दिर २०६४ साल माघ महिनामा स्थापना गरिएको हो (इङ्नाम,२०७७:१०) ।
रानीको चिनो
राजा कामदत्त सेनकी रानी थाङसामाले त्यसबेला बनाएको पोखरी तथा काठको मूर्ति हालसम्म पनि आठराई थुमको पाटीगाउँमा सुरक्षित छँदै छन् । यद्यपि ती चिनो जीर्ण अवस्थामा पुगेका छन् । ती चिनोमा एक पोखरी र धारा रहेका छन् । अहिले पनि उक्त पोखरीलाई हाङमा वरक (रानीपोखरी) भनिन्छ भने धारालाई मूर्ति धारा भनिन्छ ।
स्थानीय अनुश्रुति अनुसार रानी थाङसामाले आफ्ना माइतीहरू बाटोमा ओहोरदोहोर गर्दा पानी पिउने समस्या भएकाले राजा कामदत्त सेनको अनुमतिमा विसं १८२५/२६ तिर यो पोखरी निर्माण गरिएको हो ।
चेम्जोङ (२०५९:६४) ले उल्लेख गरे अनुसार रानी थाङसामा आफ्ना भदासँग भेट गर्न माइती आउँदा हाल तेह्रथुममा पर्ने यो पाटी गाउँमा बास परेको थियो । त्यहाँका गाउँवासीलाई पानीको ठुलो अभाव भएको थाहा पाएर रानीले राजाको अनुमति लिएर यो पोखरी निर्माण गरी पानीको बन्दोबस्ती गरिदिएकी हुन् ।
पोखरीमा एउटै काठले बनेको मूर्ति पनि रहेको छ । मूर्तिमा हात्तीमाथि माउते, राजा र रानी रहेको आकृति कुँदिएको छ । मूर्तिमा रहेकामध्ये सबैभन्दा अगाडि रहेका पुरुष माउते, उनी पछाडि रहेका अर्का पुरुष राजा कामदत्त सेन र महिला रानी रहेको अनुमान गरिएको छ । इतिहासका यस्ता सम्पदाको संरक्षण गर्नु वर्तमान पुस्ताको उत्तरदायित्त्व हुन पुगेको छ ।