• २४ जेठ २०८२, शनिबार

मातृभाषा पत्रकारिताका आयाम

blog

आवाजविहीनको आवाज उजागर गर्ने काम पत्रकारिता हो । समुदायमा सुसुप्त रहेका विषयलाई सार्वजनिक गर्ने पेसाका व्यक्तिलाई पत्रकार भनिन्छ । नेपालमा गरिने पत्रकारिताका केही भेद छन् । नेपाली भाषाको पत्रकारिता, हिन्दी भाषाको पत्रकारिता, अङ्ग्रेजी भाषाको पत्रकारिता र मातृभाषाको पत्रकारिता भनेर चर्चा हुने गर्छ । आमबुझाइ छ कि अङ्ग्रेजी, हिन्दी र नेपाली भाषाका पत्रकारिता गर्नेले पारिश्रमिक पाउँछन् । मातृभाषा पत्रकारिता गर्नेहरूले स्वयम्सेवामै रमाउनु परिरहेको स्थिति छ । जगजाहेर छ कि जुन भाषा राज्यले अँगालेको हुन्छ । त्यो स्वाभाविक रूपमा सबैले अँगाल्नै पर्छ । साझा सम्पर्कको भाषा नेपाली नै हो । खसकुरा, पर्वते भाषा, गोरखा भाषा हुँदै नेपाली भाषा बनेको हो । संविधान अनुसार मुलुकमा बोलिने १२४ वटै भाषा राष्ट्रभाषा हुन् । नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हुन् । 

प्रसङ्ग मातृभाषाको छ । हरेक भाषा निश्चित समुदायले बोल्छन् । कुसुन्डा भाषा कुसुन्डा समुदायले बोल्छन् । खाम्ची भाषा राउटे समुदायले बोल्छन् । मातृभाषा संरक्षण, संवर्धन, प्रवर्धनका अनेकौँ आयाम छन् । मातृभाषाको श्रीवृद्धिका निम्ति लागिपर्ने कवि, लेखकहरू, नाट्य तथा सङ्गीतका सर्जकहरू हुन् । विज्ञान र प्रविधिको विकाससँगै युगचेतनासहित प्रविधिसँग समाहित भएर मातृभाषालाई डिजिटल युगमा समावेश गराउने डिजी सर्जकहरू हुन् । हामीले पत्रकारितालाई दुई कोणबाट लिने गरेका छौँ । पहिलो मूलधारे पत्रकारिता भन्छौँ, जुन नेपाली, अङ्ग्रेजी, हिन्दी भाषामा गरिन्छ । यो मूलधारे पत्रकारिताले प्रमुख रूपमा समसामयिक समाजमा सतहमा देखिएका विषयवस्तुलाई प्रस्तुत गर्ने गर्छ । त्यसमा राजनीतिक, सामाजिक, सांस्कृतिक, पर्यावरणलगायत विषयवस्तु पर्छन् । 

पत्रकारिताको सवालमा के कस्ता सामग्री प्रस्तुत गर्ने भन्ने पक्ष महत्वपूर्ण हुन्छ । हाम्रो सन्दर्भमा मातृभाषा पत्रकारिता मूलधारे पत्रकारिताको नक्कलमै अल्झिरहेको छ भन्ने लाग्छ । रेडियो नेपालमा २०५१ सालदेखि प्रसारण हुँदै आएका मातृभाषाका समाचार उही मूलधारे समाचारको अनुवादलाई नै मुख्य मानेर प्रसारण गरेको पाइन्छन् । नेपाल टेलिभिजनमा उही मूलधारकै समाचार अनुवाद पढिन्छ । राष्ट्रिय समाचार समितिले नेपाली र अङ्ग्रेजीपछि नेपालभाषा, मैथिली, अवधी भाषामा अनुवाद समाचार सेवा दिने गरेको छ । गोरखापत्र दैनिकमा २०६४ असोज १ गतेबाट नयाँ नेपाल भनेर विभिन्न भाषाका सामग्री प्रकाशन प्रारम्भ भएको छ । गत पुसमा वाम्बुले राई भाषा थपिएसँगै गोरखापत्रमा ४५ मातृभाषाका सामग्री छापिँदै आएको छ । हरेक भाषाका सामग्री आआफ्नै सेरोफेरोमा छापिने गरेका छन् । ऋतुचक्र अनुसारका चाडबाड, मेलापर्व, भाषा साहित्यका गतिविधि, अन्तर्वार्ता जस्ता सामग्रीहरू प्रकाशन भएको पाइन्छ । गोरखापत्र सम्पादकीय समूहले १८ औँ गणतन्त्र दिवसको सन्दर्भमा नयाँ नेपाल पृष्ठमा छापिने भाषाहरूले आफ्नो समुदायका व्यक्तित्वहरूसँग कुराकानी गरेर सामग्री छाप्न अनुरोध ग¥यो । लोकतान्त्रिक गणतन्त्र विश्वको सर्वोच्चतम शासन व्यवस्था हो । यसबारेमा मातृभाषामा सामग्री निर्माण गर्दा शब्दभण्डारमा नयाँ शब्द थपिने रहेछ । 

यहाँ बुझ्नुपर्ने पक्ष यो हो कि हरेक भाषाको आआफ्नै विशेषता हुन्छन् । आफ्नै पृष्ठभूमिमा गुज्रिँदै बोल्दै, बोलाउँदै, बोलिँदै, व्यवहार गरिँदै आएका हुन्छन् । हरेक भाषाको भानुभक्त हुन्छन् । मोतीरामहरू हुन्छन् । जसले भाषा उत्थान आधारस्तम्भ तयार गर्छन् र उनीहरूको योगदान प्रवर्धन गरेका छन् । त्यसपछि महाकवि, कवि शिरोमणिहरू, स्वर सम्राटहरू देखा पर्छन् । जसरी वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् । नेपालभाषाका महाकवि सिद्धिदास महाजु (अमात्य) हुन् । मैथिली भाषाका आदिकवि विद्यापति हुन् । मगरभाषाका आदिकवि जीतबहादुर सिँजाली र रेखबहादुर थापामगर हुन् । गुरुङ भाषाका आदिकवि हर्कबहादुर गुरुङ हुन् । लिम्बू भाषा र लिपिको उत्थान तथा विकासकर्ता त्येअङ्सी सिरिजङ्गा, इमानसिंह चेम्जोङहरू हुन् । 

एउटा भाषाको विकासक्रम र अर्को भाषाको उत्थान समान ढङ्ग र हैसियतले भइरहेको हुन्न । जसरी नेपालभाषामा क्रान्तिको ज्वाला उरालेका शुक्रराज शास्त्री भनौँ अथवा बान्तावा राई भाषामा क्रान्तिको आगो फुकेका रत्नकुमार बान्तावा राज्यले फाँसी दियो । शास्त्री राणाशासनविरुद्ध थिए भने बान्तावा पञ्चायती व्यवस्थाविरुद्ध लडेका थिए । भलै तराजुको पल्ला समान नहुन सक्छ तर सामाजिक न्यायका निम्ति ज्यान आहुति दिए । सायद अल्पसङ्ख्यक भाषाहरूका आदिकविको भ्रूणमै हत्या भइरहेको हुन सक्छ । किनभने नेपाल राज्यले ‘एक जाति, एक भाषा, एक भेष’ का नीति लियो । अन्ततः नेपाल अधिराज्यको संविधान, २०४७ ले मातृभाषा लेखपढ गर्ने, छाप्ने स्वतन्त्रता दियो तर त्यो घडी धेरै ढिलो भइसकेको थियो । राजाका रैतीहरूको शिर झुकिसकेको थियो । संविधानले शिर उभ्याउन खोज्दा पनि शिर ठाडो पारेर टाढासम्म नजर हेर्न सक्ने स्थिति थिएन । दस बर्से जनयुद्धका मुद्दाले ह्वात्तै शिर उभ्याउन सहारा दियो । बहुसङ्ख्यक समुदायमा बचेखुचेका भाषाहरूको उत्थानमा लेखपढमा जुटेका नयाँ पुस्ताले केही प्रयास गर्दै आएको पाइन्छ । लोकतान्त्रिक गणतन्त्र संवैधानिक रूपमा स्थापित गरिदियो र मुलुकमा बोलिने सबै भाषा राष्ट्रभाषा बन्यो । भाषा आयोग बन्यो । यद्यपि नेपालको भाषा ऐन अझै बनेको छैन । सात प्रदेशमध्ये बागमती प्रदेशमा तामाङ र नेवार/नेपालभाषा सरकारी कामकाजको भाषा बनाएको छ, जबकि यो प्रदेशमा १०७ भाषा बोलिन्छन् । अरू प्रदेशले पनि बनाउलान् । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को विश्लेषणात्मक तथ्याङ्क ‘नेसनल पोपुलेसन एन्ड हाउजिङ सेन्सस २०२१ ः ल्याङ्ग्वेजेज इन नेपाल’ भर्खरै प्रकाशनमा ल्याएको छ । तथ्याङ्क अनुसार ७५३ स्थानीय तहमध्ये ३५९ पालिकामा ५० प्रतिशतभन्दा बढीले नेपाली भाषा बोल्छन् । ७० वटा पालिकामा नेपाली भाषा ५० प्रतिशतभन्दा कमले बोल्छन् । यसै गरी ३२४ पालिकामा ३४ वटा भाषा बोल्ने धेरै छन् । ती पालिकाहरूमा नेपाली भाषा बोल्नेको सङ्ख्या ५० प्रतिशतभन्दा कम छन् । ११ वटा पालिकामा एक–एक भाषाको बाहुल्य रहेको उल्लेख छ । ती भाषाहरूमा चाम्लिङ, खालिङ, वाम्बुले, साम्पाङ, राना थारू, उर्दु, याम्फु/याम्फे, नार–फु, मनाङे, बारागुँवा र मगर काइके छन् ।

अधिकांश मातृभाषाको पत्रपत्रिका प्रकाशन सङ्घीय राजधानी काठमाडौँबाट भइरहेका छन् । यो नेवाःताम्सालिङ भूमि हो । चेपाङ, बरामलगायत भाषाको आधारभूमि यही हुन सक्ला तर यहाँ मगरात, तमुवान, किराँत, मिथिला, भोजपुर, थरुहट, लिम्बूवान् भूमिको चरित्र हुन्न । त्यसैले त्यो भूमि सम्झेर अन्य मातृभाषाको पत्रकारिता भइरहेको छ । मातृभाषा पत्रकारितालाई मूलधारको पत्रकारिताले थिचिरहेको छ । मातृभाषामा पत्रकारिता गर्ने हामी पत्रकारहरू मूलधारकै धङधङीमा आधारभूमिको सुगन्ध दिन चुकिरहेका छौँ कि भन्ने लाग्छ । यस पङ्क्तिकारले ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकामा बहुसङ्ख्यकले बोल्ने वाम्बुले राई मातृभाषाको प्रतिनिधित्व गर्छ । गाउँमै बसेर पत्रकारिता गर्ने सम्भावना कम छ । गाउँमा पत्रकारिताको माहोल छैन । गाउँ गयो, सहर फर्किने हतारो हुन्छ । मातृभाषा बोल्ने समुदायको दैनिक गहिरो गरी नियाल्ने फुर्सद छैन । गाउँघरको इतिहास छ । त्यहाँ बोलिने भाषाहरू छन्, संस्कृतिहरू छन् । वाम्बुले बोलीले फड्कार्ने झुपडीमै देउदेउता, लिब्जुउपो, भुम्जुउपो जस्ता कुलदेवता छन् । वाम्बुले मुन्दुमले चिन्ने भुमेथान, देवीदेउराली, सिकारीबेखारी, भिरपहरा, खोलानाला, रुखबिरुवा, हावा, पानी, आकाश, ढुङ्गा माटो, दुधकोशी, सुनकोशी, पुर्खाहरूले नाघेर आएका खुवालुङ उतै छन् । मुन्दुम फलाक्ने नाक्सो (कुलगुरु), ङाबुचो (सहायक कुलगुरु), जोखना हेरर झारफुक गर्ने ज्वाम्चो (धामी), ज्वाम्बेनी (धमिनी) हरू, दाजुभाइ वंश गाउँमै छन् । मैले गर्ने मातृभाषा पत्रकारिताले उनीहरूकै बोली टिपेर लेख्नु, छाप्नु, प्रसारण गर्नुपर्ने हो । त्यो काम थोरै मात्र हुन सकेको छ । किनभने गोरखापत्र सहरमा छापिन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जस्ता निकाय राजधानीमै छन् । उता रहेका गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकीले मातृभाषा पत्रकारिता भन्ने बुझ्दैनन् । जनसमुदाय पत्रकारिताबारे अनभिज्ञ छन् । आफ्नै टन्टामा हुन्छन् । 

लागेको चाहिँ के हो भने राज्यले सङ्घ, प्रदेश र स्थानीय तह किटान गरेको छ । जनप्रतिनिधिहरूको बुझाइ बाटोघाटो, पानी, बिजुली, इन्टरनेट, कृषि, व्यवसाय मात्रै रह्यो । भाषा र संस्कृतिको संवर्धनका पक्षमा काम हुन सकेको छैन । कम्तीमा सम्बन्धित समुदायको बाहुल्यता अनुसार स्थानीय तहले मातृभाषा र संस्कृतिको अभिलेखीकरण, प्रसारण, प्रकाशनका निम्ति वार्षिक बजेट व्यवस्था हुनु पर्छ । समुदायलाई नै अगाडि सारेर मातृभाषा लेखन, प्रकाशन, प्रसारण गर्ने वातावरण निर्माण हुनु पर्छ । तिनै तहका सरकारको यसतर्फ ध्यान पुग्न जरुरी छ । किनभने स्थानीय समुदाय भनेका करदाता त हुँदै हुन्, उनीले बोल्ने भाषा र जीवनपद्धति जोडिएका अमूर्त तथा अमूर्त संस्कार संस्कृति राज्यको सम्पदा हुन् । र त्यो बजेटबाट देखिने, भेटिने, बुझिने ठोस काम स्थानीय शिक्षक, विद्यार्थी, विषयमा ज्ञान राख्ने व्यक्ति वा संस्थामार्फत हुन सक्नु पर्छ ।