• ११ मंसिर २०८१, मङ्गलबार

खयर बेचेर बिजुली : न पैसा तिर्न कर न अनियमितताको डर

blog

कविराज घिमिरे

हिले, भदौ ३ गते । भोजपुरको हतुवागढी गाउँपालिका–९, मजुवाटारवासीले स्थानीय नाङ्खुवा खोलाबाट लघुजलविद्युत् आयोजना सञ्चालन गर्न सकिन्छ र गाउँघर झलमल पार्न सकिन्छ भन्ने कुरा थाहा पाए। लघुजलविद्युत्को क्षेत्रमा काम गर्ने संस्था नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी)  इलामले स्थानीयवासीलाई नाङ्खुवा खोलाबाट बिजुली निकाल्न सकिन्छ भन्ने जानकारी दिएको थियो तर थोरै लागतमा विद्युत् उत्पादन असम्भव भएको थाहा पाएपछि उनीहरूलाई कसरी बिजुली उत्पादन गर्ने भन्ने चिन्ताले सतायो। अन्ततः उनीहरू सामुदायिक वनमा भएको खयर बेचेर बिजुली बाल्ने निर्णयमा पुगे। २३ लाख रुपियाँको लागतमा २०६४ सालमा विद्युत् निकाल्ने तयारी भयो। स्थानीयवासीको पहलमा वैकल्पिक ऊर्जाले आठ लाख ४० हजार रुपियाँ सहयोग ग-यो। बाँकी रकम स्थानीयवासीले नजिकै रहेको नाङ्खुवा सामुदायिक वनको खयर बिक्री गरेर बाँकी रकम जुटाई लघुजलविद्युत् आयोजना सम्पन्न गरेको नाङ्खुवा खोला लघुजलविद्युत् आयोजनाका संस्थापक सचिव अनिराज राईले बताउनुभयो।

यो आयोजनाबाट अहिले ८० घरधुरीले लाभ लिइरहेका छन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् अनियमितता भइरहेका बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालनमा रहेको लघुजलविद्युत् आयोजनाले गाउँ झलमल्ल भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा वा ठुला जलविद्युत् परियोजना बिग्रँदा पुनर्निर्माण सुस्त गतिमा अघि बढ्दा अन्यत्र विद्युत् अनियमित हुन्छ तर नाङ्खुवा खोला जलविद्युत् आयोजनाले गाउँमा हालसम्म नियमित बिजुली दिइरहेको छ। त्यस्तै राष्ट्रिय प्रसारण लाइनको बिजुलीको पैसा नियमित रूपमा तिर्नुपर्छ। नियमित नतिरे महँगो जरिवानामा परिन्छ तर यो आयोजनामा त्यस्तो छैन। स्थानीयवासीको भरअभर बुझिन्छ, समस्या परेर कुनै महिना तिर्न नसके अर्को महिना जरिवानारहित शुल्क लिइन्छ।   

लघुजलविद्युत्ले दिएको खुसी

२०६४ सालअघि यस क्षेत्रमा टुकी युग थियो। अन्यत्रका विद्यार्थीले कम्प्युटर शिक्षा लिइरहँदा त्यहाँका विद्यार्थीले घाम छँदै आफ्नो गृहकार्य सक्नुपर्ने र अन्धकारमै टुकी तथा झुम्रे बत्तीमा पढ्नुपर्ने बाध्यता थियो। धेरैजसो ज्येष्ठ नागरिकले विद्युत्बाट बलेका चिमसम्म देख्न पाएनन्। लघु तथा साना जलविद्युत् आयोजनाको विकास र सञ्चालनपश्चात् ग्रामीण क्षेत्रका नागरिकको जीवन सहज भएको छ। नाङ्खुवा खोलाबाट १२ किलोवाट क्षमतामा उत्पादन गरिएको जलविद्युत्ले धेरै नागरिकको आधारभूत आवश्यकता प्राप्त गर्न सहज भएको स्थानीय शोभाकुमारी राईको भनाइ छ। आयोजनाले मूर्त रूप पाएसँगै स्थानीयवासीको जीवनशैली फेरिएको छ । घरमा बत्ती बाल्ने, विद्यार्थीका निम्ति पढ्न सहज, घरघरमा मोबाइलको प्रयोग, टेलिभिजन तथा राइसकुकरको प्रयोग बढेको उहाँको भनाइ छ।

कच्ची पोलको जोखिम 

यस आयोजनाअन्तर्गत धेरै पोल कच्ची छन् । अघिल्लो वर्ष गाउँपालिकाले ४० वटा पोल फेरे पनि अझै एक सयभन्दा बढी पोल जीर्ण अवस्थामा छन्। राष्ट्रिय प्रसारण लाइनले धमाधम फलामका पोल फेरिरहेको अवस्थामा यो आयोजना भने बाँसका पोल र मक्किएको काठका पोलको भरमा सञ्चालन भइरहेको छ । यहाँ ठूलो हावाहुरी चल्दा पोल भाँच्चिन्छ कि भन्ने त्रास उत्पन्न हुने गरेको छ। सरकारले विद्युत् सङ्कट कम गर्न लघुजलविद्युत् आयोजनाको निर्माणलाई प्रवद्र्धन गर्ने नीति लिएको देखिन्छ। लघुजलविद्युत् आयोजनाबाट प्रतिवर्ष कम्तीमा पाँच मेगावाट बिजुली उत्पादन गर्ने घोषणा सरकारले यसअघि नै गरे पनि लागू गर्न चुनौती देखिएको छ ।

लघुजलविद्युत्कै महत्त्व

राष्ट्रिय प्रसारण लाइन गाउँ पुगेपछि धेरै लघु आयोजना उपेक्षामा पर्ने गरेका छन् तर यहाँका स्थानीय भने राष्ट्रिय प्रसारणसँगै लघु आयोजना पनि चलाउने योजनामा छन्। ठूला विद्युतीय सामग्री राष्ट्रिय प्रसारण लाइनबाट र बल्ब बाल्न लघु आयोजना प्रयोग गर्ने योजना स्थानीयवासीको छ। जसबाट बिजुली अनियमित नहुने स्थानीयवासीको बुझाइ छ।