• ६ साउन २०८१, आइतबार

दुर्लभ चराको बासस्थान रेसुंगा र मदाने

blog

रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा पाइएका चराहरु । तस्विरः रमेश विश्वकर्मा

गुल्मी, भदौ ३ गते । गुल्मीको रेसुंगा र मदाने वन संरक्षण क्षेत्र हिजोआज दुर्लभ चराको बासस्थान बन्न थोलेको छ । २०७३ सालमा रेसुंगा र २०६८ मा मदानेलाई सरकारले वन संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

हालसम्म नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चरा यहाँ फेला परेका छन् । रेसुंगा वन संरक्षण क्षेत्रमा हालसम्म २५३ र मदाने वन संरक्षण क्षेत्रमा २६४ प्रजातिका चरा भेटिएको नेपाल पंक्षी संरक्षण संघ गुल्मीको तथ्याङ्कमा उल्लेख छ । 


नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीका अनुसार रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा ३०५ प्रजातिका चराहरु रहेका छन् । त्यसमध्ये रेसुंगामा ६ प्रजातिका दुर्लभ चराचुरुङ्गी पाइन्छ । यहाँ चीर, रणमत्त महाचील,  सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेको पन्थीले जानकारी दिनुभयो । मदानेमा ४ प्रजातिका दुर्लभ चराचुरुङ्गी पाइन्छ । जसमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील रहेका पन्थीले बताउनुभयो । 

यतिमात्र होइन, नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि यी दुवै वन संरक्षण क्षेत्रमा पाइन्छ । रेसुंगामा ५६ र मदानेमा ६१ परिवारमा पर्ने चराहरु पाइने पंक्षी संरक्षण संघको तथ्याङ्कमा उल्लेख गरिएको छ । संरक्षित चराका प्रजातिहरुमध्ये मदानेमा ३ र रेसुंगामा १ रहेका छन् । राष्ट्रिय खतरामा परेका प्रजातिहरु मदानेमा १३ र रेसुंगामा १५ रहेका छन् । रेसुंगा १९ हजार दुई सय ८१.६५ हेक्टर र मदानेमा १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफल वन संरक्षण क्षेत्रको रुपमा रहेको छ । उक्त वन क्षेत्रमा चरा प्रजातिको अनुसन्धान तथा गणना गरिएको हो । 


यहाँ रहेका दुर्लभ चराहरुको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, बासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरु चरा संक्षरणका लागि चुनौती बनेको पन्थीले उल्लेख गर्नुभयो । 

जिल्लाको आधा भाग संरक्षित वनले ओगटेको डिभिजन वन कार्यालय तम्घासका कार्यालय प्रमुख प्रभात सापकोटाले बताउनुभयो । उहाँका अनुसार यस जिल्लामा २०७३ मा रेसुंगा, मुसिकोट, गुल्मीदरबार र इश्मालाई समावेश गरी रेसुंगा वन संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २०६८ मा मदाने र मालिकालाई समावेश गरी मदाने वन संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २०७३ मा मुसिकोट, चन्द्रकोट, कालीगण्डकी, सत्यवतीलाई समावेश गरी थाप्ले सत्यवती वन संरक्षण क्षेत्र घोषणा गरिएको थियो । 


Author

रमेश विश्वकर्मा