• ६ साउन २०८१, आइतबार

सीमाविहीन परिवहन व्यवस्था गर्न माग

blog

फाइल तस्बिर ।

नवराज कट्टेल

विराटनगर, भदौ ३ गते  । नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको व्यवस्था सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली ढुवानी साधनको निर्बाध आवागमनको व्यवस्था गरेर द्विपक्षीय व्यापार सम्झौता संशोधन गर्न यहाँका उद्यमी व्यापारीले सुझाव दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ समितिको आयोजनामा विराटनगरमा भएको ‘सीमावर्ती भारतीय क्षेत्रसितको व्यापार सम्भावना’ विषयक गोष्ठीमा दुई देशबीचकोे व्यापार सम्झौता संशोधन गरेर गैरभन्सार अवरोध हटाउन पहल गर्नुपर्ने सुझाव दिइएको थियो । 

नेपालको निर्यात व्यापारलाई भारतको मूल्य शृङ्खलामा जोड्न आवश्यक रहेको नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाले बताउनुभयो । उहाँले भारतसित दीर्घकालीन व्यापार सम्झौता गरेर गैरभन्सार अवरोध नहुने प्रावधान राख्न सके मात्रै नेपाल–भारत व्यापार घाटा घटाउन सकिने धारणा व्यक्त गर्नुभयो । 

सिमानामा सुक्खा बन्दरगाह, कन्टेनर फ्रेट स्टेसन र आईसीपीजस्ता पूर्वाधार निर्माण गरेर दुई देशबीचको व्यापारलाई सहजीकरण गर्न सकिने पूर्वसचिव ओझाले बताउनुभयो । भारतमा निर्यात गर्ने उद्देश्यले नेपालमा उत्पादित वस्तुको समानीकरण, परीक्षण र प्रमाणीकरणमा एकरूपता ल्याउन साझा मापदण्ड बनाउने प्रावधान व्यापार सम्झौतामा राख्न उहाँले सुझाव दिनुभयो । 

नेपाली व्यवसायीले निर्यात गर्ने वस्तुको गुणस्तरको व्यवस्थापन, ब्रान्डिङ र लेबलिङमा ध्यान दिनुपर्ने र खरिद पक्षसँग विश्वास बढाउन सके व्यापारमा सहज अवस्था हुने सुझाव कार्यक्रमका सहभागीको थियो । 

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं सावती (साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट)का अध्यक्ष डा. पोषराज पाण्डेले गत आर्थिक वर्ष भारतसितको व्यापारमा १० खर्ब ४४ अर्ब रुपियाँले घाटामा रहेको बताउनुभयो । 

अहिलेकै निर्यात व्यापारको अवस्थाले भारतसितको घाटा घटाउन नसकिने चर्चा गर्दै उहाँले प्रत्यक्ष वैदेशिक लगानीमा ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । भारतले लगाएका गैरभन्सार अवरोध पहिचान गरेर द्विपक्षीय वार्तामा गम्भीर रूपमा राख्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले भारतबाट कच्चा पदार्थ ल्याएर त्यसैलाई प्रशोधन गरेर भारत नै निर्यात गर्दा धेरै समस्या रहेको बताउनुभयो । भारतले बङ्गलादेशमा उत्पादित जुटका वस्तुमा एन्टी डम्पिङ ड्युटी नलिने भए पनि नेपालका जुट उद्योग भारतमा उक्त ड्युटीको मारमा परिरहेको राउतको गुनासो थियो । 

यसैगरी महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराले नेपालले अब विश्वको मूल्य शृङ्खलासँग जोडिएर भारतसँग निर्यात व्यापार बढाउन आवश्यक रहेको बताउनुभयो । भारतीय बजार नेपालको निर्यातको सम्भावना धेरै भए पनि ठूलो घाटा रहेकाले सहजै घटाउन सक्ने अवस्था नरहेको बोहराले बताउनुभयो । 

उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले भारतले कृषिजन्य उत्पादनको कच्चा सोझै लिन प्रशोधन गरेको वस्तुमा कर बढाएको आरोप लगाउनुभयो । 

नेपाली चियाको हरियो पत्तीको माग बढाएको भारतले प्रशोधन गरेको चिया निकासीमा अवरोध सिर्जना गरेको बताउनुभयो ।