• १७ असार २०८२, मङ्गलबार

बेलहिया नाकाबाट निर्यात ४७ प्रतिशत वृद्धि

blog

भैरहवा समाचारदाता

भैरहवा, असार १७ गते । रुपन्देहीको बेलहिया नाकाबाट हुने निर्यात व्यापारमा ४७ प्रतिशतले वृद्धि भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठसम्म निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको हो । भन्सार कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष ४७.५१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । गत आवको साउनदेखि जेठसम्म ११ महिनामा १२ अर्ब ६० करोड रुपियाँ बराबरका विभिन्न सामान रुपन्देहीको भैरहवा नाका हुँदै निर्यात भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले चालु आवको साउनदेखि जेठसम्म (११ महिनामा) १८ अर्ब ५९ करोड रुपियाँ मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको बताउनुभयो । 

चालु आवको ११ महिनामा सबैभन्दा बढी निर्यात हुने वस्तुमा भटमासको तेल (प्रशोधित), सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयर कत्था, पिना र अन्य, फलाम स्टिलका भाँडाकुँडा, नुडल्स पास्ता, जडीबुटी, खोटो रोजिन र प्लाइउड छन् । 

अन्य नाकाबाट जस्तै यहाँबाट पनि सबैभन्दा बढी निर्यात हुनेमा भटमासको प्रशोधित तेल रहेको छ । यो नाका हुँदै ११ महिनामा पाँच अर्ब ८१ करोड ५४ लाख आठ हजार रुपियाँ मूल्य बराबरको दुई करोड ९१ लाख ४० हजार ५११ लिटर तेल भारत निर्यात भएको छ । 

त्यसै गरी भन्सार कार्यालयका अनुसार तीन अर्ब १८ करोड ३३ लाख १० हजार रुपियाँ मूल्य बराबरको एक करोड ५१ लाख ९४ हजार ४६७ किलो सेन्थेटिक धागो भारत तथा तेस्रो मुलुक निर्यात भएको छ । विगतका वर्षमा सबैभन्दा बढी निर्यात व्यापार सेन्थेटिक धागोको हुने गरेकोमा चालु आवमा भने भटमासको प्रशोधित तेलले उछिनेको हो । 

त्यस्तै सिमेन्ट एक अर्ब ३३ करोड ६१ लाख ९० हजार, कत्था खयर ८४ करोड ७१ लाख ७५ हजार, पिना र अन्य ७८ करोड ३५ हजार, फलाम स्टिलका भाँडाकुँडा ७२ करोड १५ लाख ८८ हजार, चाउचाउ, नुडल्स पास्ता ६६ करोड २८ लाख १३ हजार, जडीबुटी ५७ करोड ५६ लाख सात हजार, खोटो रोजिन ५२ करोड १५ लाख ९४ हजार र प्लाइउड ४५ करोड ७६ लाख २९ हजार रुपियाँ मूल्य बराबरको भारत निर्यात भएको छ ।

केही महिनाअघिसम्म रोकिएको प्लाइउड निकासीले अहिले निरन्तरता पाइरहेको छ । सिमेन्ट, प्लाइउडलगायतका वस्तुमा विभिन्न समयमा निर्यातमा अवरोध हुने गरेको छ । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निर्यात हुन सक्ने वातावरण तयार गरे उद्योगीले अझ बढी निर्यात गर्ने र निर्यातजन्य उद्योग स्थापना गर्ने बताउनुभयो ।