• १७ असार २०८२, मङ्गलबार

संस्कृति जोगाउन आफैँ बाजा बजाउन सिक्दै

blog

जात्रामा बजाइने बाजा बजाउन सिक्दै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, असार १७ गते । नेवार समुदायको बाहुल्यता रहेको खलङ्गामा विभिन्न जात्राहरु हुने गर्दछ । झण्डै आधा दर्जन जति जात्रा हुने यस ठाउँमा जात्रामा बजाइने बाजा बजाउने जनशक्ति नहुँदा लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कला संस्कृति लोप हुने भन्दै अहिले स्थानीय आफैँ बाजा बजाउने सीप सिक्न थालेका छन् ।

जात्रा समिति खलङ्गाका अध्यक्ष चन्द्र श्रेष्ठले बाजा बजाउने सीप नहुँदा नेवार समुदायका जात्रा जोगाउनै मुस्किल हुन थालेको बताउनुभयो । उहाँले बाजा बजाउनकै लागि विभिन्न ठाउँबाट मानिस ल्याउनुपर्ने बाध्यता रहेको सुनाउँदै उहाँले अहिले आफूहरू आफैँ बाजा बजाउने सीप सिक्दै गरेको बताउनुभयो । “सबै जात्रामा बाजाको प्रयोग हुन्छ,” उहाँले भन्नुभयो, “हाम्रो संस्कृति जोगाउन हामी आफै बाजा बजाउने गरि सिप सिक्दैछौं ।”

सदरमुकाम खलङ्गामा लाखे, नागानगिनी, ताइमचा, छिनमिने जात्रा, रोपाईँ जात्रा, कृष्ण जात्रा, गणेश जात्रा लगायतका जात्रा हुने गर्दछ । पल्टन जात्रा, खाट पूर्णिमाको जात्रा भने लोप भइसकेको स्थानीयको भनाइ छ ।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले रोपाइँ जात्रा र पञ्जेबाजा सम्बन्धी तालिम सञ्चालन गरिएको विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक प्रभात श्रेष्ठले बताउनुभयो । सहकारीमा अनुरोध गरेर तालिम आयोजना गरिएको उहाँको भनाइ छ ।