बोमलाल गिरी
नवलपुर, असार १७ गते। बाढीले दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाउँदा जाममा परेका मालवाहक सवारी साधन चार दिनदेखि सडकमै थन्किएका छन्। पटक पटक डाइभर्सन बगाएकाले अब फेरि डाइभर्सन नबनाउने निष्कर्षमा सडक विभाग पुगेपछि मालवाहक सवारी साधन चार दिनदेखि कावासोतीको जङ्गलमै थन्किएका हुन्।
वीरगन्जबाट धान लिएर परासी जाँदै गरेको ट्रकका चालक दीपक थारूले आफूहरू पाँच दिनदेखि कावासोती जङ्गलमै रोकिएको बताउनुभयो। उहाँले बाटोका कारण धेरै समस्या भएको भन्दै छिटो पुल सञ्चालनमा ल्याउन र बाटो विस्तारमा तिब्रता दिन आग्रह गर्नुभयो।
यो जङ्गलमा मात्रै झण्डै एक सय ५० वटा मालवाहक सवारी साधन रोकिएका छन्। तर ट्राफिक प्रहरीले भने बाटो बन्द भएकाले नआउन सूचना निकाले पनि बेवास्ता गरेको बताएको छ।
‘‘वैकल्पिक मार्गबाट मालवाहक सवारी साधनहरू चल्न नसक्ने भएकाले हामीले सुचना निकालेरै बढी भार बोकेका र लामा मालवाहक सवारी साधन नचलाउन भनेका थियौ,’’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले भन्नुभयो, ‘‘सूचनालाई बेवास्ता गर्दा दुःख भएको छ, अझै केही दिन समस्या हुन सक्छ।’’
झण्डै एक दर्जन पटक खोलाले बगाएपछि अब नयाँ बनेको पुल सञ्चालनमा नआउन्जेल डाइभर्सन नबनाउने निर्णय गरिएको हो। निर्माण सम्पन्न भइसकेको पुल आगामी शनिबार साँझदेखि सञ्चालनमा आउने भएको छ।
पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो। सडक आयोजनाको पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजना बिचको छलफल अनुसार शनिबार साँझदेखि पुल मार्ग खुला गरिने जानकारी दिनुभयो।
यसअघि, विनयी खोलामा करिब ५२ वर्षअघि निर्माण गरिएको फलामे पुल गत पुस २६ गते भारतीय मालवाहक ट्रक चल्दा भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो।