• १६ असार २०८२, सोमबार

‘जलवायु अराजकता र द्वन्द्वग्रस्त संसार’ मा सहायता वृद्धि गर्न गुटेरेसको आग्रह

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ।

सेभिल (स्पेन), असार १६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई ‘असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको संसार’ मा ‘विकासको इन्जिनलाई पुनर्जीवित गर्न’ सहयोग गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका धनी दाता देशहरूले द्वन्द्व र आर्थिक अस्थिरताले उनीहरूको खर्च प्राथमिकतालाई परिवर्तन गरेपछि सहायता बजेट कटौती गरेका छन् वा घटाउने योजना बनाएका छन् । यो कटौतीले विकासोन्मुख देशहरूमा स्वास्थ्य, शिक्षा र मानवीय कार्यक्रमहरूको प्रगतिलाई पूर्ववत पार्ने जोखिम छ । तीमध्ये धेरै पहिले नै भारी ऋणको बोझमुनि सङ्घर्ष गरिरहेका छन् ।

स्पेनमा संयुक्त राष्ट्रसङ्घको सहायता सम्मेलनको उद्घाटन गर्दै गुटेरेसले प्रतिनिधिहरू यस क्षेत्रलाई प्रभावित पार्ने ‘विशाल प्रतिकूल हावा’ को सामना गर्दै ‘लगानी तीव्र पार्न विकासको इन्जिनलाई मर्मत र पुनरुत्थान गर्न’ भेला भएको बताउनुभयो । “ती चुनौतीमा ‘सुस्त अर्थतन्त्र, बढ्दो व्यापार तनाव र विनाशकारी सहायता बजेट, असमानता, जलवायु अराजकता र उग्र द्वन्द्वले हल्लाएको विश्व’ समावेश थियो”, उहाँले भन्नुभयो ।

सन् २०३० का लागि अन्तर्राष्ट्रिय समुदायले तय गरेको विकास लक्ष्यको दुई तिहाइ ‘पछाडि’ रहेको र त्यसलाई हासिल गर्न वार्षिक ४० खर्ब डलरभन्दा बढी लगानी आवश्यक पर्ने गुटेरेसले बताउनुभयो । सङ्कटको मतलब बालबालिकाले खोप नपाउनु, छात्राहरूले स्कूल छोड्नु र परिवारहरूले भोकमरी भोग्नु परेको छ भन्दै उहाँले संसारलाई ‘दिशा परिवर्तन’ गर्न आग्रह गर्नुभयो ।

दक्षिणी सहर सेभिलमा जुन ३० देखि जुलाई ३ सम्म चल्ने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनका लागि दर्जनौँ विश्व नेताहरू भेला भएका थिए । यो एक दशकमा यस्तो सबैभन्दा ठूलो वार्ता हो । यो सभाले गरिबी र भोकमरी उन्मूलन, लैङ्गिक समानताको प्रवद्र्धन, कर प्रणाली र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने दस्तावेज अपनाउने छ । तर संसारको मुख्य विदेशी सहायता दाता संयुक्त राज्य अमेरिकाले यस कार्यक्रमलाई बेवास्ता गरिरहेको छ । रासस/एएफपी