• १६ असार २०८२, सोमबार

एसइईपछिको पढाइ

blog

माध्यमिक शिक्षा परीक्षा (एसइई) पार पछिको पढाइका लागि कुुुन विषय, कहाँ, किन पढ्ने ? बारे विद्यार्थी र अभिभावकबिच खुल्दुली हुनु स्वाभाविकै हो । भर्खरै एसइई उत्तीर्ण अल्लारे उमेरका विद्यार्थीले लहलहैमा लागेर पढ्ने विषय र शिक्षण संस्था हचुवामा छान्दा पढाइ ओल्लो घाट न पल्लो तीर भएर हन्डर खाएका धेरै उदाहरण छन् । श्रम बजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौती थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न समयको माग अनुसार अध्ययन विषयको छनोट होस पु¥याएर गरिनु पर्छ । तसर्थ कुन विषय किन र कहाँ पढ्ने ? शिक्षक, अभिभावक र अनुभवीको सल्लाह र सुझाव मार्गदर्शन हुन सक्छ । 

विद्यार्थीको चाहना र क्षमता अनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकको चिन्ता र चिन्तनको विषय बन्नु पर्छ । गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नु पर्ला ? जस्ता प्रश्नको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबिचको सहकार्यबाट गम्भीरतापूर्वक समयमा नै दूरदर्शी निष्कर्षमा पुग्न सरकार र सरोकार पक्षले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न चुक्नु हुँदैन । एसइई पार भएका विद्यार्थीलाई श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमा नै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकार पक्षले कञ्जुस्याइँ गर्नु हुँदैन । अध्ययनका लागि स्वयम् विद्यार्थी, अभिभावक, विद्यालय तथा सरकारी निकायको सामूहिक प्रयासबाट मात्र विषय र शिक्षण संस्था छनोटमा महत्वपूर्ण योगदान रहन्छ ।

विद्यार्थी

विद्यार्थी आफैँलाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यस कारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नु पर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नु पर्छ । पढ्ने विषय रोज्दा आफ्नो रुचि क्षमता, शिक्षण संस्थाको स्रोतसाधन, भौतिक सुविधा, योग्य शिक्षकको उपलब्धता आदि कुरामा विशेष ध्यान दिनु पर्छ । शिक्षण संस्थाको विज्ञापन तथा ब्रोसियरमा लेखिएका कुरालाई मात्रै विश्वास नगरी शैक्षिक सफलताका ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिको दिगोपन, व्यवस्थापनको स्तर, स्रोतसाधनको पर्याप्तता र पारदर्शितासमेतलाई वस्तुनिष्ठ भएर प्रत्यक्ष अवलोकन गर्नु पर्छ । भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रम बजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आफ्नो आर्थिक क्षमताका बारेमा यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी हुन्छ ।

अभिभावक

अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छा विपरीतका विषय जबर्जस्ती पढ्न लाउनु हुँदैन । छोराछोरीको क्षमता र रुचि अनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिका आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनु पर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होउन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धि पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । एक जिम्मेवार अभिभावकले आफ्नो आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनोट गरेमा पछि पछुताउनु नपर्ला ।

शिक्षण संस्था

शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि आफ्नो स्रोतसाधन र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रूपमा नढाँटी इमानदारीपूर्वक जानकारी गराउनु पर्छ । किनकि मानवीय संसाधन विकास गर्ने अभिभारा लिएकाले त्यसमा हेलचेक्य्राइँ भएमा व्यक्ति समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यस कारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभका लागि बेइमानी गरेमा प्रकारान्तरमा विश्वास गुमाउन पुग्दा स्वयम्का लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति नियमलाई इमानदारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ । सार्थक दूरदर्शी सोच राखेर मात्रै अनुशासित वातावरणमा शिक्षण संस्था सञ्चालन गर्नु पर्छ । 

भनिन्छ, बाली लगाउन कम्तीमा छ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनु पर्छ । अरूको देखासिकी गरी धुरी चढ्नुको साटो गम्भीरतापूर्वक संस्थाको दिगोपन तथा निरन्तर प्रगतिका लागि सम्भाव्यताको अध्ययन अनुसन्धानपछि मात्र शिक्षण संस्था सञ्चालन गर्ने निष्कर्षमा पुग्दा दिगो र फलदायी हुन्छ । संस्थाले आफ्नो लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नु पर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा शिक्षण संस्थालाई स्थापित गर्ने लक्ष्यबाट सञ्चालक निर्देशित हुनु पर्छ । विद्यार्थीको भाग्य र भविष्यलाई सदैव सर्वोपरि मानेर शैक्षणिक कार्यक्रम सञ्चालन गरिनु पर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति नियम अपरिहार्य हुन्छ ।

सरकारी निकाय

गरिब जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था राज्य तथा शिक्षण संस्थाले गर्नका साथै अन्य सरकारी गैरसरकारी र राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न निकायबाट प्रदान गरिने छात्रवृत्ति बारेको यथार्थ जानकारी सहज रूपमा सबैलाई उपलब्ध हुने व्यवस्था गरिनु पर्छ । सञ्चालित उच्चमाविको सङ्ख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने देखिन्छ । तोकिएका सेवा सर्त अनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनु पर्छ । विद्यालयलाई विद्यार्थीको उपलब्धि प्रति जवाफदेही बनाउन राज्य र स्वयम् सेवाग्राही चनाखो हुनु पर्छ । विद्यार्थीलाई कहरले भन्दा पनि रहरले पढ्ने विषय र शिक्षण संस्थामा भर्ना गरिनु बुद्धिमानी हुन्छ ।

अन्त्यमा जे विषय जहाँ पढे पनि शारीरिक, मानसिक, सामाजिकलगायतका मानवीय गुणहरूको विकास गर्न भने चुक्नु हुन्न । जसमा सिर्जनशील, लगनशील, सिपयुक्त, स्मार्ट, ऊर्जावान्, नेतृत्व क्षमता भएको, टिम वर्क गर्न सिपालु, प्रभावकारी सञ्चार कला भएको, समयको व्यवस्थापन गर्न सक्ने उत्साही तथा आत्मविश्वासी व्यक्तिले हरेक क्षेत्रमा सफलता चुम्न सक्छ भन्ने तर्फ हेक्का राख्नु जरुरी छ ।