• १६ असार २०८२, सोमबार

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

blog

चितवन,  असार १६ गते । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु. तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो । 

उहाँका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

वडा नम्बर ४ को  खैरहनीटारस्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमशः ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताउनुभयो । 

गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताउनुभयो । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आवमा दोब्बर सङ्ख्यामा घर बनाइएको हो । 

अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडा अध्यक्षलगायत स्थानीयको सहभागिता थियो । रासस