काठमाडौँ, असार १६ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको जोखिमबाट सिङ्गो संसारलाई जोगाउन सबैभन्दा पहिले नेपालका हिमालको सौन्दर्य बचाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस-२०८२ का अवसरमा आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको समापनका अवसरमा हिमाल आरोहीसमेत रहनुभएका महामन्त्री शर्माले वातावरण परिवर्तनका कारण सङ्कटग्रस्त हाम्रा हिमाललाई जोगाउन सबै क्षेत्रबाट पहल हुनुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनको जोखिमबाट सिङ्गो संसारलाई जोगाउनुछ भने सबैभन्दा पहिले नेपालका हिमाललाई जोगाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसैगरी जलवायुजन्य जोखिम बढ्दै गएमा अहिले तस्बिरमा देखिएका हिमालहरू अबको १० वर्षमा हामीले देख्न पाउने छैनौँ, त्यसतर्फ गम्भीर भई आआफ्नो ठाउँबाट हिमाल जोगाउने अभियानमा सक्रिय सहभागी होऔँ ।”
महामन्त्री शर्माले यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथाको आरोहणको प्रयास गर्नुभएको थियो । सगरमाथाको तेस्रो शिविरमा पुग्नुभएका नेता शर्मा प्रतिकुल मौसमका कारण त्यहीँबाट आरोहण यात्रा टुङ्ग्याएर फर्किनुभएको थियो । उहाँले यसअघि लोबुचे हिमालको आरोहण गर्नुभएको थियो ।
प्रदर्शनीमा राखिएको हिमालको महत्त्व झल्काउने तस्बिरले नजिकैको सिंहदरबारलाई देखाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको जनाउँदै महामन्त्री शर्माले प्रदर्शित तस्बिरहरूले नीति निर्मातादेखि कार्यान्वयन पक्षको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीमा हाम्रा सुन्दर हिमाल, पहाड, तालतलैया देखिएका छन् । प्रदर्शनी केवल तस्बिरको रूपमा मात्र नभई १० वर्षपछि पनि यही अवस्थामा यस्तै रहन्छ कि रहँदैन भन्ने चिन्ता र चासोसहित नजिकैको सिंहदरबारलाई देखाउन पनि महत्त्वपूर्ण छ ।”
जलवायु परिवर्तनको असर कार्बन उत्सर्जनको मात्रा बढ्दै गएको र त्यसको जोखिम नेपालजस्ता मुलुकहरूले बेहोर्नुपर्ने बाध्यता रहेको भन्दै महामन्त्री शर्माले नेपाललाई मात्र नभई सिङ्गो संसारलाई नेपालमा रहेका अन्तर्राष्ट्रिय सङ्घसंस्था, अन्तरराष्ट्रिय मिडिया एजेन्सीहरूलाई एकै ठाउँमा राखेर नेपालकाप्रति संसारलाई झकझक्याउन जरुरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिमाल हाम्रो सौन्दर्य, स्वाभिमानको प्रतीक पनि हो । नेपाल देश भनेर संसारमा चिनिएको महत्त्वपूर्ण प्रतीकमध्ये हिमाल पनि एक हो । महत्त्वपूर्ण तस्बिर कैद गर्ने राससकर्मीलाई ह्दयदेखि सम्मान र बधाई दिन चाहन्छु । राससले समग्रतामा सबै तस्बिरलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेको छ । आज सबै हिमालको प्रतिकात्मक चित्र देखिएको छ ।”
महामन्त्री शर्माले “प्रदर्शनीमा आएर चित्र हेरेर मात्र पुग्दैन चित्रको पछिल्तिरको विचित्रलाई पनि हेर्नसक्ने हृदय राख्नुपर्छ”, भन्दै जलवायु परिवर्तनको ठुलो जोखिमको अवस्थामा महत्त्वपूर्ण प्रदर्शनी आयोजना गरेर संसारलाई झक्झक्याएकामा रासस परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
तस्बिर प्रदर्शनीको समापन गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिमालको महत्त्वका बारेमा जनचेतना जगाउने र नीति निर्मातालाई झक्झक्याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति निर्माण तहमा रहेका पदाधिकारी, नेतागण, पर्यटन व्यवसायी, विदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरूले बडो अभिरुचिका साथ प्रदर्शनी अवलोकन गर्नुभयो ।”
यसैगरी प्राध्यापक, विद्यार्थी, सञ्चारकर्मीसहित आमसर्वसाधरणले तस्बिर अवलोकन गरी सकारात्मक प्रतिक्रिया दिनुभएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले तस्बिर प्रदर्शनीबाट आन्तरिक पर्यटन प्रवर्धनका साथै नीति निर्माण तहमा रहेका जिम्मेवार पक्षको ध्यानाकर्षण गर्न तथा पर्वतीय सम्पदासहित पर्यटनको संरक्षण, संवर्धन र प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गत जेठ ११ गतेबाट सुरु भएको तस्बिर प्रदर्शनीको प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, प्रधानसेनापति, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पर्यटन व्यवसायी, प्रतिष्ठित आरोही, विद्यार्थी, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि एवं सर्वसाधरणले अवलोकन गर्नुभएको थियो ।
भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीमा हिमाल, हिमाली तथा पहाडी जनजीवन एवं मुलुकका प्रमुख पर्यटकीयस्थलसँग सम्बन्धित ९६ वटा तस्बिर समेटिएका थिए । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशिखरमध्ये सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला नेपालमा छन् ।
गणतन्त्र दिवसका अवसरमा राससले तीन वर्षदेखि निरन्तर विभिन्न विषयमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । राससले यसअघि गणतन्त्र दिवस २०८० को सन्दर्भमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ र गणतन्त्र दिवस २०८१ को सन्दर्भमा ‘गणतन्त्रको उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो । रासस