• १७ असार २०८२, मङ्गलबार

धनकुटामा ९१ प्रतिशत रोपाइँ बाँकी

blog

साँगुरीगढी गाउँपालिका–३, स्थित कुशेटारमा रोपाइँ गर्दै किसान । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास, आसार १७ गते । असारको तेस्रो साता सकिन लाग्दासमेत धनकुटा जिल्लामा करिब ९१ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस वर्ष रोपाइँ कम भएको जनाएको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४९,३८ दशमलब ८९ हेक्टर धान हुने खेतीयोग्य क्षेत्रफल छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५४३.२७ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ । जिल्लाका अधिकांश रोपाइँ हुने स्थानमा सिँचाइभन्दा पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले बेलैमा रोपाइँ हुन नसकेको हो । 

धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकाका तल्लो भूभाग साथै शहिदभूमि, छथरजोरपाटी चौबिसे र साँगुरीगढी गाउँपालिकाका तल्लो भूभागमा राेपाइँका लागि खेतीयोग्य जमिन रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।

सात स्थानीय तह रहेको धनकुटामा त्यसो त समयमा पानी नपर्नाले रोपाइँ नहुनु एउटा समस्या रह्यो भने अर्को समस्या कृषकलाई मलबीउ आवश्यक अनुसार बेलैमा उपलब्ध नहुँदा थप अर्काे समस्या थपिएको कृषको गुनासो पाइन्छ । सम्भावित रोपाइँको अन्तिम चरण पुगिसक्दासमेत अपेक्षाकृत रुपमा रोपाइँ नभएको पाइन्छ । समयमै वर्षा नहुनु, सिँचाइ सुविधा पर्याप्त र आवश्यक अभाव हुनु यसका प्रमुख कारण हुन् ।