• १७ असार २०८२, मङ्गलबार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

blog

मायादेवी साझेदारीमा सङ्कलन गरिएको काठ । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलवस्तु), असार १७ गते । जिल्लाको मायादेवी साझेदारी वन व्यवस्थापन समूहले एकै वर्षमा १० करोडभन्दा बढीको सालको काठ उत्पादन गरेको छ । चालु आर्थिक वर्ष २०८१-०८२ मा ८७ हजार क्युफिट काठ उत्पादन गरेको हो । 

अध्यक्ष दिनेश कुमार जैसवालका अनुसार उक्त काठको मूल्य १० करोडको हाराहारीमा आउने बताउनुभयो । सालको काठ प्रति क्युफिट १२ सय पर्छ । पिपरा, पटन र साझेदारी वनको अन्य क्षेत्रबाट सो काठ उत्पादन गरी करिब ९० प्रतिशत सङ्कलन गरी घाटगद्दी गरी सकिएको उहाँले बताउनुभयो । पिपराबाट ६० हजार पटनाबाट २० हजार अन्य स्थानबाट ७ हजार काठ सङ्कलन गरिएको हो । 

वन व्यवस्थापन योजना अनुसार पुनरुत्पादन, सुधार र योजानाबद्ध कटानको माध्यमबाट काठ उत्पादन गरिएको हो । यस्तै चालु आर्थिक वर्षभित्रै २ सय चट्टा दाउरा समेत सङ्कलन गरिएको छ । काठ र दाउरा बिक्रीका लागि टेन्डर निकालिएको उहाँको भनाई छ । बिक्री भएको रकमको आधा हिस्सा साझेदारी र आधा रकम लुम्बिनी प्रदेश सरकारलाई बुझाइने अध्यक्ष जैसवालले बताउनुभयो । 

उठेको रकमबाट यसै क्षेत्रको वनको व्यवस्थापन, पुनरूत्पादन, साना विकास निर्माण लगायतका लगानी गरिने उहाँले बताउनुभयो । संकलन गरिएको गोलिया काठको छालाको भागलाई स्थानीयले आफैँले निकालेर घरमा दाउराका रुपमा प्रयोग गर्न दिइएको छ । यसबाट स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । 

मायादेवी साझेदारीले बुटवल नारायणगढ सडकबाट पाउने सट्टा भर्नाको ५७ हेक्टर क्षेत्रमा १ लाख बिरुवा रोपिनेछ । त्यसका लागि ४ करोड  ९५ लाख रकम सडक डिभिजन कार्यालयमार्फत पाइन्छ । जसको सम्झौता समेत भइसकेको  छ । कटान भएका ब्लकका तारबार गर्ने तथा बिरुवा उत्पादन गर्ने, फायर लाइन कार्यसमेत भएको अध्यक्ष जैसवालले बताउनुभयो । 

अतिक्रमण रोक्न २० किलोमिटर ट्रेन्च खन्ने कामसमेत भएकाे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले वन व्यवस्थापनलाई विशेष ध्यान दिएका छौं’। बाणगङ्गा नगरपालिकाको ५ लाख र साझेदारीको ५ लाख गरी १० लाखमा पिपरा सब डिभिजन कार्यालयमा पोखरी निर्माण आपूर्ति समितिको सहयोगमा ७ हजार क्युफिट काठ अटने सेड निर्माण समेत गर्ने गरिएको उहाँको भनाइ छ । 

‘हामीले चालु आर्थिक वर्ष उत्कृष्ट काम गरेका छौं, राष्ट्रिय पुरस्कार पाउनेमा समेत आशावादी छौं,’ उहाँले भन्नुभयो । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले मायादेबी साझेदारी वनले काठ उत्पादन, वन क्षेत्र अतिक्रमण हटाउने, वृक्षरोपण लगायतमा राम्रो काम गरेको बताउनुभयो । बाणगङ्गा नगरपालिका वडा नम्बर १० र ११ तथा मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकालाई समेटर मायादेबी साझेदारी वन खडा गरिएको हो । 

एक हजार ८१९ दशमलव ९३ हेक्टर क्षेत्रफल रहेको साझेदारीमा २७ हजार ४४३ घरधुरी छन् ।