• १७ असार २०८२, मङ्गलबार

पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जनमार्फत सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौँमा आयोजित ‘उत्थानशीलका लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान–नेपाल संवाद कार्यशाला’ उद्घाटन समारोहमा उहाँले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणाम सुनिश्चित गर्न धेरै महत्व राख्ने भएकाले यस कार्यमा योजना आयोग कटिबद्ध रहेको जानकारी दिनुभयो । 

उहाँले नेपाल र सम्पूर्ण हिन्दुकुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र लचिलो भविष्य निर्माण गर्ने साझेदारीमा मिलेर लगानी गर्नुपर्ने बताउँदै हरित रोजगारी, जलवायु–स्मार्ट उद्यम गर्न र इकोसिस्टम निर्माण गर्न नेपाल कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले साझा अनुभव र आपसी शिक्षाले पहुँच लाभ साझेदारी र चक्रीय अर्थव्यवस्थामा सहकार्यका लागि नयाँ ढोका खोल्नेसमेत बताउनुभयो । “हामीले यो बुझ्नु आवश्यक छ, उद्यमशीलता केवल एक आर्थिक गतिविधि मात्र होइन; यो समावेशी र जलवायु उत्थानशील विकासको शक्तिशाली चालक पनि हो । नेपाल सरकारले राष्ट्रिय नीति र कार्यक्रमबाट यसबारे स्पष्ट पारेको छ,” उपाध्यक्ष अधिकारीले भन्नुभयो ।

उपाध्यक्ष अधिकारीले आफूहरूसँग अहिले ‘स्टार्टअप’ र ‘इनोभेसन’ नीति रहेको बताउँदै यसबारे पछिल्ला वर्षहरूमा नेपालले महत्वपूर्ण आधार तयार पारेको जानकारी दिनुभयो । उहाँले उद्यमशीलतामा ‘इकोसिस्टम’ सँगै ‘मेन्टरसिप’ ल्याउनु आवश्यक रहेको चर्चा गर्दै ‘मेन्टरसिप’ लाई वैकल्पिक सेवाका रूपमा हेर्न नहुने तर यसलाई हाम्रो अर्थव्यवस्था र समुदायहरूलाई रूपान्तरण गर्ने रणनीतिका रूपमा अँगाल्नुपर्नेसमेत विचार व्यक्त गर्नु भयो ।

व्यवसायीहरूले पहिलो पटक नेपालको उद्यमशीलता इकोसिस्टममा ‘मेन्टरसिप’ लाई संस्था बनाउन साहसी कदम चालेको हुँदा यो एउटा कोसेढुङ्गा रहेकोसमेत बताउनुभयो ।

‘मेन्टरसिप’ मा लगानीबाट हामीले स्थानीय समस्या समाधान गर्ने, सभ्य काम सिर्जना गर्ने र प्रकृति र समुदाय दुवैलाई सम्मान गर्ने व्यवसाय निर्माण गर्ने जनताको क्षमतामा लगानी गर्न सकिने दाबी गर्नुभयो ।

कार्यशालामा भुटान चेम्बर अफ कमर्स, नेसनल बायोडाइभर्सिटी सेन्टर र नेपालका उद्यमीहरूको सहभागिता छ ।