सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले शुक्रबार पनि पदाधिकारी टुङ्गो लगाउन सकेन । शुक्रबार बिहान ९ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पदाधिकारी चय गर्ने विषयमा छलफल भएको थियो ।
गीतसङ्गीतमा लाग्दा राम्रो हुन्छ भनेर कसैले नभने पनि अनायासै यो क्षेत्रमा लागेका गायक तथा मोडल कृष्ण सापकोटा यही क्षेत्रमा स्थापित हुने प्रयत्नमा हुनुहुन्छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, बल्कोटमा जन्मिनुभएका सापकोटा सानैदेखि गीतसङ्गीतमा बढी रुचि राख्नुहुन्थ्यो। दश वर्षको उमेरबाट उहाँले आफूलाई अब्बल बनाउन थाल्नुभएको हो।
लामा अमृत फाउन्डेसन घान्द्रुकद्वारा निर्माण गरेको घान्द्रुकको वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ । ब्रेजमेस्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्रको विशेष प्रदर्शन गरिएको हो । वृत्तचित्र प्रदर्शनको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने गरेको बताउनुभयो । यस गाउँको पर्यटकीय, सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेकाले अहिले घान्द्रुकको परिचय फराकिलो र व्यापक हुँदै गएको गुरुङले बताउनुभयो । यी सबै पक्ष वृत्तचित्रमा समेटिएको छ ।
प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधका घटनामा बृद्धि हुन थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ मनमैजुका माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने अङ्कित गोयन्कालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिन बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुक्रबारका लागि सारिएको छ । प्रतिनिधि सभा बैठकका कारणले बिहीबारको बैठक स्थगित गरिएको भनिए पनि पदाधिकारी छान्न सकस परेपछि बैठक सारिएको बताइन्छ । पदाधिकारीका आकाङ्क्षी बढेसँगै पार्टीलाई यस मामिलामा निर्णय गर्न कठिन हुँदै आएको छ ।
सुर्खेतको पश्चिम चौकुनेस्थित प्रस्तावित नरहरिनाथ वनविज्ञान क्याम्पस पाँच वर्षदेखि सम्बन्धनको पर्खाइमा छ। चौकुने गाउँपालिका–५ को तोस्रामा वन विज्ञान क्याम्पस सञ्चालन गर्ने नीतिगत निर्णय पहिलो गाउँ सभाले गरेको थियो। सो क्याम्पस जानकी, मालिका र मायाताल सामुदायिक वनको गरी ३० बिगाह जग्गामा रहेको छ। बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसका भौतिक संरचना निर्माण गरी काम अघि बढाइएको थियो। एक वर्षअघि नै निर्माण सम्पन्न भइसकेको क्याम्पसको दसकोठे भवन अहिलेसम्म प्रयोगमा भने आउन सकेको छैन। सम्बन्धित निकायबाट अध्यापन अनुमतिका लागि स्वीकृति मिलेको छैन। सम्बन्धन नपाउँदा त्यहाँका भौतिक संरचना बेवारिसे बनेका छन्।
बालबालिकाहरुले विद्यालयमै दिवा खाजा खान पाएपछि बालबालिका हर्षित हुनुका साथै पढाइमा पनि निकै सुधार आउन थालेको विद्यालयहरुले जनाएको छ ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने निर्णय तीन वर्षअघि भए पनि जग्गा विवादका कारण अलपत्र परेको छ। तीन वर्षअघि नगरपालिकाले वडा नम्बर ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई वडा नम्बर १ मा सारेर १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो। सो निर्णयपछि स्थानीयवासीबीच जग्गा विवाद भएको थियो। भएको स्वास्थ्य संरचनामा डाक्टर बोलाउन नसक्ने तर स्वास्थ्य केन्द्र सार्ने भन्दै स्थानीयवासीले विरोध गरेका थिए। अस्पतालको अध्ययन गर्न आएको परामर्शदाता कम्पनीसमेत स्थानीयवासीबीच जग्गा विवादका कारण फर्केको थियो।
नेपाल बाल सङ्गठन बाल मन्दिर डडेल्धुराको जग्गा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल डडेल्धुरा शाखाले कब्जा गरेको छ। बाल सङ्गठनसँग कुनै सहकार्य नै नगरी सङ्गठनको जग्गा राजनीतिक दलका नेता, अगुवा, स्थानीय सरकार प्रमुखले राजयोग प्रशिक्षण केन्द्रलाई हस्तान्तरण गरेको छ। चार वर्षअघि सो जग्गा र भवन संरक्षणका नाममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रलाई दिइएको थियो। डडेल्धुराको अमरगढी नगरपालिका–५, खलङ्गामा २०४३ सालमा बाल मन्दिरको भवन निर्माण गरी उद्घाटन गरिएको थियो। बाल सङ्गठनका नाममा साढे छ रोपनी जग्गा रहेको नेपाल बाल सङ्गठन डडेल्धुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताउनुभयो। बाल मन्दिरको ढोका छेउको ताम्रपत्रमा तत्कालीन रानी ऐश्वर्यले २०४२ साल माघ १९ गते उद्घाटन गरेको देखिन्छ।
पोखरा महानगरपालिकामा कार्यरत कर्मचारीले बुझ्ने तलबमा पनि अनियमितता भएको पाइएको छ । महालेखा परीक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा महानगरका स्थायी करिब डेढ सय कर्मचारीबाहेक २३८ जना कर्मचारी नियुक्त गरी तलब खाइरहेको उल्लेख गरेको छ । ती कर्मचारीले अहिले पनि कानुन र विधिविपरीत तलब बुझ्ने गरेको पाइएको छ । कर्मचारीको तलबमा मात्र सात करोड ९६ लाख ३० हजार रुपियाँ अनियमित भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८३ मा स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थायी तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।
तनहुँमा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको चासो र विश्वास बढ्दै गएको छ । कम खर्चमै रोग निको हुन थालेपछि आयुर्वेद उपचार गर्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । अघिल्ला वर्षहरूमा आयुर्वेदिक उपचारमा बिरामीको कमै ध्यान जाने गरेको भए पनि हाल भने उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भीड लाग्ने गरेको छ । हाल दैनिक रूपमा ७० देखि ९० जनासम्म बिरामी आउने गरेको केन्द्रले जनाएको छ । स्वास्थोपचारका लागि विभिन्न उपकरणसमेत जडान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६५ हजार बिरामीले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ । स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्यास्ट्रिक, प्रसूति, बमनथेरापीलगायतको उपचार गर्न आउने गरेको केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । प्रदेशको अस्थायी मुकाम बुटवल डेङ्गुको ‘हट स्पट’ बनेको छ । तराईका जिल्लामा मात्र सीमित डेङ्गुु अब पहाडी जिल्लामा समेत देखापर्न थालेको छ । पहाडी जिल्ला पाल्पामा डेङ्गुबाट सङ्क्रमित भएका बिरामी भेटिनेक्रम बढेको छ । पाल्पाका विभिन्न अस्पतालमा गरेको परीक्षणमा डेङ्गुका बिरामी फेलापरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा २० जना डेङ्गुबाट सङ्क्रमित भएको फेलापरेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।