• ६ साउन २०८१, आइतबार

पदाधिकारी छनोट गर्न आज बैठक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ३ गते । पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिन बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुक्रबारका लागि सारिएको छ । प्रतिनिधि सभा बैठकका कारणले बिहीबारको बैठक स्थगित गरिएको भनिए पनि पदाधिकारी छान्न सकस परेपछि बैठक सारिएको बताइन्छ । पदाधिकारीका आकाङ्क्षी बढेसँगै पार्टीलाई यस मामिलामा निर्णय गर्न कठिन हुँदै आएको छ । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रतिनिधि सभाको बैठकका कारण शुक्रबार बिहान पुनः बैठक बोलाइएको जानकारी दिनुभयो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने भनिएको थियो । 

यसअघि नै अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा बनाउने प्रस्ताव गरिसक्नुभएको छ । माओवादीभित्र पदाधिकारीका लागि २५ भन्दा बढी नेताले दाबी गरेका छन् । 

पदाधिकारीमा पम्फा भुसाल, हरिबोल गजुरेल, मातृका यादव, गणेश साहको दाबी रहँदै आएको छ । वरिष्ठका आधारमा महासचिव बनाउने प्रचण्डले यसअघि नै भनिसक्नुभएकाले देव गुरुङको चर्चा माओवादीभित्र छ । महासचिवको दाबी गरिरहनुभएका प्रभावशाली नेता वर्षमान पुन, गिरिराजमणि पोखरेल र जनार्दन शर्माको नाम उपमहासचिवका रूपमा चर्चामा छ ।

पदाधिकारीमा नेताहरूको दाबी रहँदै आएपछि माओवादी आठौँ महाधिवेशन सकिएको सात महिनामा पदाधिकारी, स्थायी समिति चुनिन सकेको छैन । त्यस्तै पोलिटब्युरो र केन्द्रीय समितिले पनि पूर्णता पाउन सकेको छैन ।