• ६ साउन २०८१, आइतबार

वृत्तचित्रमा घान्द्रुक गाउँ

blog

कास्की समाचारदाता 

कास्की, भदौ ३ गते । लामा अमृत फाउन्डेसन घान्द्रुकद्वारा निर्माण गरेको घान्द्रुकको वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ । ब्रेजमेस्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्रको विशेष प्रदर्शन गरिएको हो । 

वृत्तचित्र प्रदर्शनको उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने गरेको बताउनुभयो । यस गाउँको पर्यटकीय, सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेकाले अहिले घान्द्रुकको परिचय फराकिलो र व्यापक हुँदै गएको गुरुङले बताउनुभयो । यी सबै पक्ष वृत्तचित्रमा समेटिएको छ । उहाँले घान्द्रुकको लोकप्रियतालाई अझ वृत्तचित्रले थप प्रस्ट्याएको उल्लेख गर्नुभयो । “यो वृत्तचित्रले घान्द्रुकको लोकप्रियता र पर्यटकीय महत्त्व तथा सांस्कृतिक महत्त्वलाई थप प्रस्ट पारेको छ,” गुरुङले भन्नुभयो । 

आफू पहिलो पटक २०३६ सालमा घान्द्रुक पुगेको स्मरण गर्दै अहिलेसम्मको विकासका बारेमा बुझ्न उत्सुकता लागेकै कारण वृत्तचित्र हेर्न आइपुगेको बताउनुभयो । “म पहिलो पटक ०३६ सालमा घान्द्रुक पुगेको थिएँ र राजनीतिक कार्यक्रमकै लागि दोस्रो पटक पनि पुगेको छुँ । यो वृत्तचित्रको पोष्टर देखेपछि हेर्न इच्छा लागेको थियो,’’ उहाँले भन्नुभयो, “त्यसैले पहिलेको घान्द्रुक र अहिलेको घान्द्रुकमा के भिन्नता रहेछ भन्ने उत्सुकता लागेर हेर्न आएको हुँ ।’

उक्त प्रदर्शनमा घान्द्रुकका स्थानीय बासिन्दा, कलाकार, समाजसेवी तथा व्यवसायीहरूको सहभागिता रहेको वृत्तचित्र निर्माता लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार फाउन्डेसनले निर्माण गरेको वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको सङ्गीत र सञ्जय मल्लको आवाजले सिँगारिएको छ भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।

वृत्तचित्रमा पर्यटकीय क्षेत्र घान्द्रुक गाउँ तथा आसपासको प्राकृतिक सौन्दर्य, तमु समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, धर्म तथा संस्कृतिलाई चित्रण गरिएको छ । साथै सो क्षेत्रका बासिन्दाको दैनिकीका बारेमा समेत समावेश गरिएको छ । घान्द्रुक गाउँमै पहिलो पटक प्रदर्शन गरी औपचारिक सुरुवात गरेको वृत्तचित्रलाई पोखरासँगै देशका अन्य मुख्य सहरहरू काठमाडौँ तथा चितवनलगायतका स्थानमा प्रदर्शन गर्ने तयारी रहेको फाउन्डेसनका संस्थापक लामा गुरुङले जानकारी दिनुभयो ।