विराटनगर, चैत ९ गते । समालोचनात्मक कृति ‘अक्षरको यात्री’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो । सङ्ग्रहभित्र १६ जना मूर्धन्य साहित्यकारका कृतिमाथि गरिएका समालोचना समेटिएका छन् । कृतिमा युगपुरुष विश्वेश्वरप्रसाद कोइरालादेखि वर्तमान पुस्ताका स्रष्टासम्मका सिर्जनामाथि आलोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णप्रसाद दाहालले नेपाली साहित्यमा समालोचना विधाको गरिमा र आवश्यकतामाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “सिर्जनाको उचित मूल्याङ्कन र निष्पक्ष विश्लेषणले नै साहित्यलाई परिष्कृत बनाउँछ । स्वस्थ समालोचनाबिना साहित्यको जग बलियो हुन सक्दैन, त्यसैले यो कृतिले नयाँ सर्जकका लागि मार्गदर्शनको कार्य गर्ने छ ।” कृतिका सम्पादक निर्मला कोइरालाले कृतिले नेपाली साहित्यका विविध आयामलाई सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गर्ने जमर्को गरेको र समालोचक स्व. दधिराज सुवेदीको प्रेरणाबाट सम्पादन यात्रामा अघि बढेको बताउनुभयो ।