केशव राज भट्ट
वासुलिङ (बैतडी), चैत ९ गते । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ । विशेषज्ञ चिकित्सक अभावका कारण पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको हो ।
केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको हो । करारमा कार्यरत चिकित्सक स्थायी सेवामा नाम निकालेपछि अन्यत्र गएपछि केन्द्र लामो समयदेखि चिकित्सकविहीन बनेको कार्यालयले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाटनका निमित्त प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावकै कारण पछिल्ला दिनमा विभिन्न समस्या देखिएका छन् ।
केही दिनअघि सिगास गाउँपालिकाको जंगलमा घाइते भएको चितुवाको बच्चाको उपचारका लागि डडेल्धुराबाट चिकित्सक बोलाउनुपरेको उनले जानकारी दिनुभयो । त्यस्तै, शिवनाथ गाउँपालिकामा एक स्थानीयको गाईको उपचारका लागि पनि बाहिरबाटै चिकित्सक ल्याउनुपरेको थियो ।
पन्तका अनुसार सामान्य उपचार सेवा केन्द्रमै उपलब्ध भए पनि विशेषज्ञ चिकित्सकको हस्ताक्षर आवश्यक पर्ने रिपोर्ट तथा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ । गम्भीर प्रकृतिका बिरामी पशुका लागि कहिलेकाहीँ धनगढीबाट समेत चिकित्सक बोलाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको उक्त केन्द्रमा लामो समयदेखि चिकित्सक अभाव हुँदा पनि पदपूर्ति हुन नसक्दा स्थानीय सेवाग्राही प्रभावित भएका छन् ।
विशेषज्ञ सेवा अभावका कारण पशुमा लाग्ने रोगको पहिचान, निदान, ल्याब परीक्षण, शल्यक्रिया तथा निरोगिता प्रमाणीकरणजस्ता सेवा प्रभाविहीन बनेका छन् । यसले पशुपालन क्षेत्रमा लगानी गर्नसमेत स्थानीय किसान हिच्किचाउन थालेको गुनासो गरेका छन् ।