केदार तिमल्सिना
बनेपा, चैत ९ गते । कम्युनिस्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका बदनकुमार भण्डारी त्यही कम्युनिस्ट पार्टीका आधार क्षेत्रलाई भत्काएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय हासिल गर्नुभएको छ ।
३३ वर्षीय भण्डारी एमाले निकट विद्यार्थी सङ्गठन त्यसपछि नेकपा (समाजवादी) हुँदै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट विजय हुनुभएको छ । पुराना स्थापित राजनीतिक दलको पकेट क्षेत्रमा उहाँले विजय हासिल गरेपछि चर्चाको विषय बनेको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि चुनावी एजेन्डा बनाएर राजनीतिमा होमिएको बताउँदै उहाँले भन्नुभायो, “नवपुस्ताको आन्दोलनले खोजेको भावनालाई स्थापित गर्नु मेरो उद्देश्य हो ।” चुनावअघि र पछि पनि जनताका बिचमा रहेर काम गरेको बताउँदै उहाँले सुशासन, सडक सञ्जालको स्तरोन्नति, कालोपत्रे, ढल निर्माण जस्ता कार्यका लागि पहल गरिरहेको बताउनुभयो । कृषि क्षेत्रमा बिउबिजन, मल, बजारीकरणसम्बन्धी समस्या यथावत् छन्, भण्डारीले भन्नुभयो, “जनताको ठुलो माग छैन, आफ्नो गाउँघरमा कृषि उपज उत्पादन बिक्री गर्दा उचित मूल्य पाउनुपर्ने, बजार राम्रो हुनुपर्ने यस्तै छ ।”
रोजगारीका लागि युवा बिदेसिएका छन् । स्वदेशमा भएका पनि सहरकेन्द्रित भएका छन् । गाउँमा वृद्धवृद्धा मात्रै बस्ने थलो बनेको छ । कतिपय सामुदायिक विद्यालय बन्द छन् । कतै विद्यार्थी न्यून छन्, कतै शिक्षक र विद्यार्थी बराबर छन् । यस्तो अवस्थाको निकास दिन नीतिगत तहमा बसेर काम गर्ने आफूले योजना बनाएको उहाँले बताउनुभयो ।
स्थानीय तहमै अस्पताल चाहिएको जनताको माग रहेको छ । बनेपा, धुलिखेलको अस्पताल टाढा भएका कारण आफू त्यसका लागि पहल गर्ने बताउँदै उहाँले अवैध खानी तथा व्रmसर र त्यसबाट सृजित अर्को समस्या रहेको बताउनुभयो ।
जनप्रतिनिधि निर्वाचित भएपछि कानुन निर्माणका निम्ति के के गर्नु पर्छ भनी आफूले अध्ययन गरेको बताउँदै उहाँले भन्नुभयो, “के कस्ता विधेयक निर्माण गर्नुपर्ने छ, समस्या कहाँ छ, संशोधन के मा गर्ने हो, खारेजी कस्ता गर्नेबारे प्रारम्भिक चरणको अध्ययनको सुरुवात गरेको छु ।” जिल्लाबाट प्रतिनिधित्व गरेर संसद्मा पुगेपछि बजेटका लागि मन्त्रालयमा धाउने परम्परा अन्त्य गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले मानव विकास सूचकाङ्कका आधारमा कम विकास भएका क्षेत्रमा बढी र धेरै विकास भएका स्थानमा कम बजेट विनियोजन गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
“बजेट न्यायोचित, समानुपातिक समतामूलक ढङ्गबाट छुट्याउनु पर्छ,” भण्डारीले भन्नुभयो, “जनताको सेवामा इमानदार भएर लाग्ने छु, समतामूलक विकास मेरो मान्यता हो, जनमैत्री नीति निर्माण गरी भनसुनबाट काम हुने परम्परा अन्त्य गर्न लाग्ने छु ।”
आफ्नो निर्वाचन क्षेत्रमा रहेका सडक, कृषि, रोजगारीका क्षेत्रमा रहेका समस्या समाधानका लागि विधायिकाको हिसाबले विधेयक निर्माणदेखि अन्य महìवपूर्ण विषयमा काम गर्ने तयारी गर्नुभएको छ । चुनावअगाडि आफूले जनतासमक्ष गरेका वाचालाई इमानदारीका साथ पूरा गर्न नीतिगत ढङ्गबाट काम हुने विश्वास उहाँले लिनुभएको छ । भण्डारीले ५३ हजार ३४४ मत ल्याउदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको थियो ।