• ९ चैत २०८२, सोमबार

बस र पिकअपसँग ठोक्किँदा कारमा आगलागी

blog

कारमा भएको आगलागी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत ९ गते ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–६, कालिन्जोर पुलमा आइतबार राति दुईवटा गाडीसँग ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।

राति पौने ९ बजेतिर बीआर ०१ पिएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएर ब्याक गरी भाग्न खोजेको थियो ।

भाग्नेक्रममा सो कार पूर्वतर्फबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्बरको पिकअपमा ठोक्किएर आगलागी भएको हो । आगलागीबाट कारको अघिल्लो भागमा क्षति पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । कारमा लागेको आगो प्रहरी र स्थानीय भएर निभाएको इन्स्पेक्टर जोहारीले बताउनुभयो । प्रहरीले दुर्घटनामा परेका तीनवटै सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।